जिल्ला अदालत महोत्तरीले सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न आदेश आदेश दिएको छ।
मृतकका आफन्त प्रेमबहादुर विकले दिएको जाहेरीमाथि सुनुवाई गर्दै जिल्ला अदालत महोत्तरीले असई विकको हत्यामा आरोपित प्रदेश सभा सदस्य यादवलगायतको सम्पति रोक्का गर्न आदेश दिएको हो। प्रदेश सभा सदस्य यादव महोत्तरी ४ (क) जनता समाजवार्टी पार्टीबाट निर्वाचित हुन् ।
जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदन जयसवालले दिएको जानकारी अनुसार, कर्तव्य ज्यान मुद्दामा प्रदेश सभा सदस्य यादव सहित प्रतिवादीहरु विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको पनि सम्पति रोक्का गर्न आदेश गरिएको हो ।
उल्लेखित प्रतिवादीको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको तर निज प्रतिवादी हालसम्म पक्राउ नपरेको र अदालतमा उपस्थित समेत नभएको देखिएको हुँदा उनीहरूको अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का गर्न अदालतको आदेशमा भनिएको छ ।
सो घटनामा संलग्न रहेको आरोपितमध्येका मधेश प्रदेशका तात्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा २०७५ साउन २८ गते र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे २०७५ साउन २९ गते साधारण तारिखमा रिहा भइसकेका छन् ।
मधेश आन्दोलनको क्रममा २०७२ साल भदौ २५ गतेका दिन महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत विकलाई एक्लै पाएर आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा कुटपिट गरी घाइते बनाएका थिए । आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा महोत्तरी गाउँपालिकाका सनोखरा गाउँ नजिक एम्बुलेन्समै थुतेर आन्दोलनकारीले पुनः कुटपिट गरेपछि उनको मृत्यु भएको थियो।