नेपाल सरकारले नेपाली भूभाग लिपुलेक क्षेत्रमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको छ । आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताउदै नेपाली भुमि लिपुलेक क्षेत्रमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरे।
भारतले नेपाल सरकारलाई आफ्नो अडान बताइसकेको भनेर वक्तव्य जारी गरेको भोलिपल्ट सरकारका प्रबक्ता कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताए। मन्त्री कार्कीले दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए ।