नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा तीन वटा गल्ती गरेको स्वीकारेका छन्। सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आफ्नो आत्मसमीक्षा गरेका हुन् ।
प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नुहुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’
प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती स्वीकारेका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।
प्रचण्डले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपर्थ्याे, विचार थियो भने (यसलाई स्थगित गर्नेबारे) छलफल गर्नुपर्थ्याे’, उनले भनेका छन् । तर उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिए ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव राखेका छन् । उनले पार्टीलाई उत्पादनसँग जोड्ने र पार्टीका नेता कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । यसको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने उनले प्रस्ताव गरेका छन् ।
उनले मओवादीले नेतृत्व जितेको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने पनि प्रस्ताव गरेका छन् । त्यस्तै माओवादीले नेतृत्व नजितेको तर संगठन मजबुत भएको स्थानीय तहमा पनि ५० युवालाई कृषि काममा लगाउने प्रस्ताव गरेका छन् ।
प्रचण्डले माओवादीले नेतृत्व गरेको प्रदेशमा १०० जनासम्म युवालाई कृषि, पशुपालन र दुग्ध उत्पादनमा लगाउने प्रस्ताव गरेका छन् । त्यस्तै केन्द्रमा पनि कृषि र श्रमसँग जोड्ने गरी कार्यक्रम बनाउन पहल गर्ने प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।