नेपाली कांग्रेस कास्कीका नवनिर्बाचित सभापति किशोर दत्त बराललाई कोरोना संक्रमण पुष्टि भएको छ। आफुलाई कोरोना संक्रमण पुष्टि भएको बरालले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।
उनले बुधबार राती एक फेसबुक स्टाटस राख्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। केही दिन अघिदेखि आफुलाई केही असहज महशुश भएको अवस्थामा पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले आफ्नो स्टाटसमा लेखेका छन्। उनले आफ्नो स्वास्थ्यमा खासै समस्या नदेखिएको र होम आइशोलेसनमा रहेको पनि जानकारी दिएका छन्।
यसैबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, गण्डकी प्रदेशको कास्की, बागलुङ र पुर्बी नवलपरासीका ३८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। कास्कीका ११ जना पुरुष र ४ महिला तथा बागलुङका नौ पुरुष र पाँच महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले दिएको जानकारीमा उल्लेख छ। त्यस्तै पुर्बी नवलपरासीको तीन पुरुष र छ महिलामा कोरोना संक्रमण देखिएको प्राप्त समाचारमा जनाइएको छ।