नेपाल भारत सिमा समन्वय बैठकमा नेपाली अधिकारीहरुले भारतीय अधिकारीसमक्ष राईझुम्मा गीतमार्फत असन्तुष्टि मात्र प्रकट गरेनन्। उनीहरुले बैठकमा भारतले नेपाल र नेपाली नागरिकमाथि गरेका अन्याय र अत्याचारको डटेर कुरा राख्दै बिरोध जनाए।
भारतको पिथौरागढमा भएको नेपाल भारत सिमा समन्वय बैठकमा भारतीय जिल्लाधिकारी (डिस्ट्रिक्ट मेजिस्ट्रेट) आशिष चौहान, नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र बैतडीका प्रजिअ राजेन्द्रदेव पाण्डे सुरक्षा अधिकारीसहित दुवै तर्फका सुरक्षासंग सम्बद्ध अधिकारीहरु सहभागी थिए।
दुई वर्षदेखि हुन् नसकेको बैठकको आयोजक भारतीय पक्ष भए पनि उसले कुनै एजेन्डा राखेको थिएन । दार्चुलाका प्रजिअ जोशीले देउडा गाउँदै एजेन्डा उठाए–
‘छिमेकी देश गाउँ जोलै मित्र बन्न पुग्छ
असल मित्र त्यो हो जसले सुख–दुःख बुझ्छ
‘राइझुमा..झुमा क्या मस्क्याकी छौ राइझुमा’
जोशी यतिमा मात्रै रोकिएनन् । भारतीय पक्षलाई असल छिमेकी बन्न आग्रह गर्दै देउडा गीत ‘राइझुमा झुमा क्या मस्क्याकी छौ राइझुमा’ को लयमा भने–
‘पडोसी/छिमेकी बन्धु….जो हुन् असल मित्र
छलकपट हुँदैन भन्छन् पवित्र मनभित्र’
जोशीले गीत गाइरहँदा भारतीय जिल्लाधिकारी चौहानसहित उपस्थित सबैले उठेर तालीले साथ दिएका थिए । प्रजिअ जोशीले दार्चुला सदरमुकाम खलंगादेखि सोही जिल्लाको व्यास गाउँपालिका–१, छाङरुसम्म सीमावर्ती महाकाली तटीय क्षेत्रमा भारतीय पक्षबाट भएका बलमिच्याइँका करिब एक दर्जन जति विषय बैठकमा उठाए ।
बैठक सकेर सोमबार साँझ सदरमुकाम खलंगा आइपुगेका प्रजिअ जोशीले दुई वर्षयता सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट भएका बलमिच्याइँपूर्ण घटनाबारे भारतीय समकक्षीको ध्यानाकर्षण गराइएको जानकारी दिए । दार्चुला सदरमुकाम खलंगाबाट महाकालीको माथ्लो सीमावर्ती तटीय क्षेत्रमा भएका अमानवीय व्यवहारदेखि सीमा क्षेत्रमा अनधिकृत संरचना निर्माणसम्मका विषयलाई उठाइएको प्रजिअ जोशीले बताए।
नेपाली भुमि लिपुलेक समेटेर भारतले राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि करीब दुई वर्ष यता भारतीय पक्षसंग नेपाली अधिकारीहरुको प्रत्यक्ष कुराकानी भएको थिएन। प्रजिअ जोशीका अनुसार, नेपाली भूमिसमेत समेटेर खनेको धार्चुला–लिपुलेक सडक २०७७ वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे। २०७० असारमा महाकालीमा बाढी आएपछि नदीले धार परिवर्तन गर्दा पारिपट्टि परेको करिब दुई सय रोपनी नेपालको भूभागमा भारतीयले नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको, बिनासमन्वय भारतले सडक खन्दा चट्टान खसेर नेपालतर्फ बाटो भत्किएको, बिनासमन्वय सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गरेको, अनुमतिबिना नेपाली आकाशमा हवाई उडान भरेको, दार्चुलाका सीमा क्षेत्रमा झोलुंगे पुल निर्माणमा सहजीकरण नगरेको, भारतीय भूमि हुँदै छाङरु जान व्यवधान खडा गरेको, अपराध अनुसन्धान प्रयोजनका लागि ड्रोन उडाउन नदिएको विषयमा पनि नेपालको प्रशासनले समकक्षीलाई ध्यानाकर्षण गराइएको प्रजिअ जोशीले जानकारी दिए ।
भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काएपछि महाकालीमा खसेर बेपत्ता दार्चुला मालका जयसिंह धामीको खोजबिनमा भारतले नदी तटीय क्षेत्रमा ड्रोन उडाउन दिएको थिएन । त्यस घटनामा भारतीय पक्षले अनुसन्धानमा पनि असहयोग गरेको थियो । पछिल्लोपटक नेपाली अधिकारीलाई भारतीय बाटो हुँदै जनगणना गर्न दार्चुलाको छाङरु जान पनि अवरोध पुर्याइएको थियो । गणकलाई रोकिएको विषयमा पिथौरागढ प्रशासनसँग दार्चुला प्रशासनले कारण माग्दा जवाफ नै आएन ।
जिल्लाधिकारी चौहानले तुइन घटना र गणकलाई भारतीय बाटो प्रयोग गर्न नदिएको विषय ‘माथिको आदेश’ भन्दै आफू केही नबोल्ने बताएका थिए । बाँकी विषयमा चौहानले अब सीमा क्षेत्रमा हुने गतिविधिमा ‘दुवै देशको समन्वय र सहजीकरणबाट मात्रै काम हुने’ उल्लेख गर्दै यसअघिका घटनामा ‘सरी’ भनेको जोशीले बताए ।
बैठकमा नेपाली अधिकारीले भारतमा मृत्यु भएका नेपाली मजदुरका परिवारले भारत सरकारबाट पाउनुपर्ने क्षतिपूर्ति र शव हस्तान्तरणमा पनि प्रभावकारी रूपमा सहजीकरण गर्न आग्रह गरेका थिए । यसलाई पनि चौहानले गम्भीर रूपमा लिएको जोशीले जानकारी दिए । सीमा पुल बनाउन आवश्यक निर्माणका सामान ढुवानीमा समेत सहजीकरण गरिदिन प्रशासनले भारतको ध्यानाकर्षण गराएको छ ।
एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा तुइनको लट्ठा खुस्काइदिँदा नेपाली युवक महाकालीमा बेपत्ता भएको घटनापछि पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरूप हटाइएका थिए । उनको ठाउँमा चौहान आएका हुन् । चौहान आएपछि नेपाली अधिकारीसँग शनिबार भएको पहिलो सीमा बैठकले दुई देशका प्रशासनबीच अनौपचारिक सूचना आदानप्रदानका लागि सामाजिक सञ्जाल ‘वाट्सएप’ ग्रुपसमेत प्रयोगमा ल्याउने समझदारी गरेका छन् । गृह मन्त्रालयले बैठकमा सीमा क्षेत्रका समस्याबारे कुनै लिखित हस्ताक्षर वा समझदारी नगरी द्विपक्षीय छलफल गर्न अनुमति दिएको थियो ।
परेको