अनियमितताको आवाज उठाउँदा मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर राईले वडाध्यक्षलाई बाहिर निकाले

अनियमितताको आवाज उठाउँदा मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर राईले वडाध्यक्षलाई बाहिर निकाले


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० कार्तिक २०७८
  • 6.3K
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा ब्यापक अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेकै भोलिपल्ट ब्यापक अनियमितताको भएको भनेर आवाज उठाउने एक वडाध्यक्षलाई मोरङको एक नगरपालिकाका मेयरले बैठक कक्षबाट निकालेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले ब्यापक अनियमितताको भएको भनेर आवाज उठाउने  वडा नम्बर ४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर बैठक कक्षबाट निकालेका हुन् ।

प्राप्त समाचार अनुसार, सोमबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको आरोप लगाउदै तथ्यहरु अघि सारेका थिए। उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरेका थिए  । वडा अध्यक्ष भण्डारीले बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए पछि दुईजना नगरप्रहरीले उनलाई बैठक कक्षबात बाहिर निकालेको बताइएको छ। वडाध्यक्ष भण्डारीलाई बैठक कक्षबाट आहिर निकालेपछि मात्र समिक्षा गोष्ठी शुरु भएको थियो।

पालिका भित्र भएको ब्यापक अनियमितता बारे प्रश्न उठाउँदा आफुलाई नगर प्रहरी लगाएर बैठक कक्षबाट बाहिर निकालिएको पिडित वडाध्यक्ष भण्डारीले बताए।  उनले आफुलाई नगर प्रहरीले अभद्र ब्यबहार गरेको पनि दुखेसो पोखे। वडाध्यक्ष भण्डारीले आफूविरुद्ध भएको अन्यायका बिरुद्द इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन् ।

वडा अध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ ।

सोमबारको समीक्षा गोष्ठीमा वडा अध्यक्षलाई निकालेपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको बताए । वडाध्यक्ष भण्डारीले आफ्नो मोटरसाइकल मर्मतका लागि १० हजार रुपियाँ खर्च भएको भन्दै बिल पेश गरेको तर माग फारम नभरेककारण उनको भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले दाबी गरे। खरेलका अनुसार, पालिकाले चालु आर्थिक वर्षका लागि इन्धनमा छुट्याएको ४२ लाख, मर्मतको ३० लाख र फर्निचरको ५० लाख खर्च हुने क्रममा रहेको दाबी उनले गरे ।

मेयर राई नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष भण्डारी भने माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

बैठक कक्षबाट वडा अध्यक्ष निकालिएपछि माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले आपत्ती जनाएका छन् । उनले वडा अध्यक्षमाथिको दुर्व्यवहारको मूल्य चुकाउने उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया