अन्नपूर्ण हिमालमा एक महिनादेखि हिमपहिरो

अन्नपूर्ण हिमालमा एक महिनादेखि हिमपहिरो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ चैत्र २०७२
  • 13.2K
    Shares

म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ हिमालमा एक महिनादेखि हिमपहिरो रोकिएको छैन । फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा-जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो। दैनिक ठूलो आवाजमा पहिरो खस्ने क्रम अझै नरोकिएको जानकारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले दिए । अन्नपूर्ण साउथ हिमालको एक छेउबाट घलेम्दीखोला र अर्को छेउबाट रेलेखोला बग्छन्।
दुवै खोला नारच्याङदेखि केही माथि आई नीलगिरि हिमाल भएर बग्ने मिरिस्टीखोलामा मिसिन्छन् । त्यही मिरिस्टी कालीगण्डकीमा मिसिने भएकाले अहिले कालीगण्डकीको सतह पनि बढेको छ। ‘कालो हुने कालीगण्डकी दाना क्षेत्रबाट तल लेदो मिसिएकाले सेतो देखिएको छ । शुक्रबार बेलुका पनि ठूलो हिमपहिरो गयो’, अध्यक्ष गुरुङले भने, ‘एकछिन त पानीको सतह एकदमै बढेको थियो।’
शुक्रबार तुलनात्मक रूपमा घलेम्दीखोलाको सतह बढेका कारण नारच्याङ क्षेत्रमा निर्मित ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले निर्माण गरेको काठेसाँघु बगाएको आयोजनाका कम्पनी सचिव विमल रिजालले बताए।’पानी निरन्तर धमिलो आइरहेको छ । बेसक्याम्प जानसक्ने स्थिति छैन।
फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा-जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो।
त्यहाँको अवस्था अहिलेसम्म यकिन भएको छैन’, उनले भने। बादलजस्तै आकाशमा फैलिएको धुलोका कारण फागुन १२ मा पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दाना गाविसको सोलीघोप्टे डाँडामा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो।
एक्याप र घलेम्दी जलविद्युत् आयोजनाबाट प्राविधिक टोली बेस क्याम्पसम्म जाने तयारी गरे पनि प्रतिकूल मौसम र अत्यधिक धुलोका कारण सफल हुन नसकेको आयोजनाले जनाएको छ।प्रहरीनिरीक्षक लोकेन्द्रसिंह गुरुङले निरन्तर हिमपहिरो खसे पनि कालीगण्डकी तटीय क्षेत्रमा कुनै प्रकारको जोखिम नरहेको बताए।
‘घलेम्दीखोलाको सतह केही बढ्ने, केही घट्ने भइरहेको छ। यसले अहिलेसम्म भौतिक र मानवीय क्षति गरेको अवस्था छैन’, उनले भने, ‘हाम्रो संयन्त्रलाई तयारी अवस्थामा राखेका छौं। सबै सतर्क रहनुपर्ला।’ प्रतिकूल मौसमका कारण हेलिकोप्टरबाट समेत त्यहाँ जान नसकेको उनले बताए।

प्रतिक्रिया