नवलपरासी जिल्लाको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएपछि खैलाबैला मच्चिएको छ।
विहिबार दिउँसो सुनवल–९ स्वाठीका तीन वर्षीय बालिका प्रिया कहाँरको खुट्टामा प्लास्टर लगाउनुपर्नेमा स्वास्थ्यकर्मीको गल्तिले कुकुरले टोक्दा लगाइने खोप रेविज विरुद्धको सुई लगाईएपछि खैलाबैला मच्चिएको हो ।
बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् । तर अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताइन ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदालेअस्पातालकी नर्सले गल्तीले रेविज विरुद्धको भ्याक्सिन लगाएकाले स्पष्टिकरण सोधि चित्तबुझ्दो जवाफ नआए कारवाही गरिने जानकारी दिएका छन्। अस्पतालका निमित्त प्रमुख होदाले कोठा अभावका कारण प्लाष्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकाले खोप लगाउन आह्वान गर्दा प्लाष्टरका लागि लाइनमा बसेकी बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन ल्याएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जा नहेरी खोप लगाइदिँदा दुवै पक्षबाट गल्ती हुन पुगेको दाबी गरे।
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. होदाले घटना पछि तत्कालै सबै चिकित्सक कर्मचारीको बैठक बसि यस्ता गल्ति नदोहोर्याउने प्रतिवद्धता जनाएको जानकारी दिए।
उक्त रेविज विरुद्धको भ्याक्सिन दुई प्रकारको हुने भएपनि बच्चालाई दिएको भ्याक्सिनले भने कुनै असर नगर्ने चिक्सिकले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाबारे सूचना पाएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसहित स्थलगत जानकारी लिँदै दोषी कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र चित्तबुझ्दो जवाफ नआए विभागीय कारवाहीका लागि सिफारिस गर्न अस्पतालका निमित्त प्रमुख होदालाई निर्देशन दिएका छन्।