अक्सिजनको अभावमा छटपटाई रहेका बिरामीलाई नि:शुल्क अक्सिजन बाँडीरहेका एम्बुलेन्स चालक पक्राउ

अक्सिजनको अभावमा छटपटाई रहेका बिरामीलाई नि:शुल्क अक्सिजन बाँडीरहेका एम्बुलेन्स चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ बैशाख २०७८
  • 9K
    Shares

विक्की अग्रहरी, Vicky-Agrahari, janasanchar

कोरोना संक्रमणकाकारण भारतमा अक्सिजन अभावले गर्दा दैनिक सैयौं मानिसहरुको  मृत्यु भैरहेको छ। तर अक्सिजनको अभावले छटपटाई रहेका बिरामीलाई नि:शुल्क अक्सिजन बाँडीरहेका एक जना एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ।

प्रहरीले भारत उत्तरप्रदेशको जैनपुरस्थित सरकारी अस्पताल बाहिर अक्सिजनबिना तड्पिरहेका बिरामीलाई निजी खर्चमा अक्सिजन नि:शुल्क  बांडिरहेका जैनपुर कोतवालीका विक्की अग्रहरीलाई पक्राउ गरेर  उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा १८८ र २६९ अनुसार मुद्दा चलाएको हो। यो मुद्दा जैनपुरका प्रमुख स्वास्थ्य अधिकारीको उजुरीको आधारमा चलाइएको हो ।

विक्कीले “अक्सिजन नपाएका बिरामीको पीडा देख्न नसकेर आफ्नै एम्बुलेन्समा रहेको अक्सिजन सिलिण्डर निकालेर बिरामीलाई दिएको”  बताउँछन् । उनले भनेका छन्, ‘मेरो एम्बुलेन्समा दुईवटा अक्सिजन सिलिण्डर थिए । दुई साताअघि मैले श्रीमतीको सुन बेचेर चार अक्सिजन सिलिण्डर किनेको थिएँ । दुई सिलिण्डर मलाई दानमा प्राप्त भएको थियो । मैले हालसम्म एक सय जना बिरामीलाई अक्सिजन सहयोग गरिसकेको छु ।’ उनका अनुसार अक्सिजन अभावका बीच उनले प्रतिसिलिण्डर २० हजार (भारु) को दरले किनेका थिए ।

तर यस सम्बन्धमा प्रहरी अधिकारीको भनाइ भने अर्कै छ । जैनपुरका प्रहरी अधिकारी मनीष बर्मा भन्छन्, ‘ती युवकले अस्पताल बाहिर अव्यवस्था सिर्जना गरेर स्वास्थ्यकर्मीलाई दुःख दिइरहेका थिए, त्यसैले पक्राउ गरिएको हो ।’ उनले कसैलाई पनि बिनाकारण दुःख दिने नियत प्रशासनको नभएको पनि बताएका छन् ।

प्रहरी अधिकारी बर्मा भन्छन्, ‘ती युवकले अस्पताल बाहिर बिरामीहरुलाई अक्सिजन दिएर भिडियो बनाइरहेका थिए । जबकि त्यो समयमा अस्पतालमा बेडहरू खाली थिए। ज–जसलाई अक्सिजन दिइएको थियो, ती सबैलाई अस्पतालमा भर्ना गरिएको थियो ।’

बर्मा भन्छन्, ‘हाम्रा अधिकारी र मेडिकल स्टाफहरु पनि आफ्नो ज्यान खतरामा राखेर काम गरिरहेका थिए । उनीहरुले मिडियामा स्थान पाउँदैनन् तर जब कुनै नकारात्मक खबर आउँछ, त्यसलाई उचालिन्छ । यसबाट अधिकारीहरुको मनोबल गिर्छ ।’ उनको दाबीअनुसार जैनपुरमा स्थिति धेरै हदसम्म नियन्त्रणमा छ । हाल अक्सिजन र बेडको अभाव छैन ।

कतिपयले यसलाई राहतकर्मीलाई स्तब्ध बनाउने घटनाको रूपमा लिएका छन् । –बीबीसी हिन्दीबाट

प्रतिक्रिया