कोरोना संक्रमणदर उच्च : प्रतिबन्ध फुकुवा गरे कोरोना भाइरसको आँधी आउने डब्लूएचओको चेतावनी

कोरोना संक्रमणदर उच्च : प्रतिबन्ध फुकुवा गरे कोरोना भाइरसको आँधी आउने डब्लूएचओको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ बैशाख २०७८
  • 17.9K
    Shares

डब्लूएचओका प्रमुख हैन्स क्लूग, janasanchar , who

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार ६ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ६ सय २३ जनाको मृत्यु भएको हो ।

योसँगै शुक्रबार बिहानसम्ममा भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ लाख ७८ हजार बढी पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा आठ लाख ७५ हजार एक सय ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै विश्वमा हालसम्म संक्रमितको संख्या १५ करोड १० लाख ९६ हजार बढी पुगेको छ ।

संक्रमितमध्ये हालसम्म १२ करोड ८९ लाख ७४ हजार बढी निको भइसकेका छन् भने विश्वभर हाल सक्रिय संक्रमित एक करोड ८९ लाख ४४ हजार रहेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा मात्र तीन हजार पाँच सय बढीको मृत्यु भएको छ भने ब्रजिलमा पनि तीन हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख हैन्स क्लूगले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको प्रतिबन्ध फुकुवा गरिएमा कोरोनाको आँधी आउने चेतावनी दिएका छन्।  उनले प्रतिबन्ध फुकुवा गरेमा मानिसको भीडभाड बढ्ने भएकाले युरोपमा पनि भारतकै जस्तो अवस्था आउने चेतावनी दिए ।

भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिनु र भयावह स्थिति उत्पन्न हुनुमा मानिसको लापरवाही र भीडभाड नै मुख्य कारण भएको बताइन्छ । त्यसैले अन्य देशले पनि प्रतिबन्ध फुकुवा गरे भयावहको स्थिति उपन्न हुने डब्लूएचओले जनाएको छ । युरोपका केही देशहरुले प्रतिबन्ध खुकुलो बनाउने भएपछि डब्लूएचओले सचेत गराएको हो ।

यता नेपालमा पनि दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा चार हजार नौ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । आठ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।

केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार पांच सय ९७ जनाको पीसीआर र नौ  सय ६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये ३८।३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर संक्रमित संख्या ३ लाख १७ हजार पांच सय ३० पुगेको छ । गत वैशाखमा देशभर कुल संक्रमित संख्या दुई लाख ८१ हजार पांच  सय ८७ थियो । गत वैशाख १ गते देखि बिहीबारसम्म थप ३५ हजार ९ सय ४३ संक्रमण पुष्टि भएको छ । हाल, देशभर सक्रिय संक्रमित सख्ंया ३४ हजार एक  सय १७ पुगेको छ ।

अहिलेसम्म २ लाख ८० हजार एक सय ६७ संक्रमित निको भएका छन् । देशभर ५९ व्यक्ति क्वारेन्टाइनमा छन् । त्यस्तै, देशभर तीन  सय ३७ आईसीयू र एकसय सात  जना भेन्टिलेटरमा गरी चार सय ४४ बिरामी उपचाररत छन्

गण्डकी प्रदेशमा पाँच आईसीयू र एक भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८७ आईसीयू र २१ भेन्टिलेटर, कर्णालीमा २३ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २० आईसीयू र सात भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकाका अस्पतालमा १ सय ७२ संक्रमित आईसीयू र भेन्टिलेटरमा छन् । हालसम्म देशभर रहेका प्रयोगशालाबाट २४ लाख ५८ हजार ५ सय ६५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना ‘चेन ब्रेक’ गर्न जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमले मास्क समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया