भारतसँगको लडाइँका लागि तयार रहन युवाहरुलाई निर्देशन

भारतसँगको लडाइँका लागि तयार रहन युवाहरुलाई निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ चैत्र २०७२
  • 11.3K
    Shares

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतसँगको लडाइँका लागि तयार रहन युवाहरुलाई निर्देशन दिएका छन् । विभिन्न बहानामा भारतले नेपालमाथि हिटलर शैलीमा शासन गर्न खोजेको भन्दै उनले त्यसको कडा प्रतिकारमा उत्रन आग्रह गरे । नेपालको जलस्रोत कब्जा गर्न भारतले षड्यन्त्र गरिरहेको भन्दै उनले त्यसबिरुद्ध युवाहरुलाई अन्तिमसम्म लड्न निर्देशन दिए ।

पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको शुक्रवार सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भारतविरुद्ध लड्न युवाहरुलाई निर्देशन दिए ।

अस्थिरता उत्पन्न गराएर भारतले नेपालमा वितण्डा मच्चाउन खोजेको भन्दै युवाहरु चुप लागे नेपालको स्वाभिमान नै गुम्ने चेतावनी दिए ।

भारतले नेपालमा अस्थिरता चाहेको र उसकै षड्यन्त्रमा अहिले मधेसवादी दलहरु प्रयोग भइरहेको उनको दाबी छ ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर भारतले हिटलर बन्न खोजेको उनले बताए । ‘अस्थिरता उत्पन्न गराएर भारतले नेपालको पानी कब्जा गर्दैछ, हाम्रा ठूला दलहरुले आत्मसमर्पण गरी सके’, उनले भने, ‘यस्तो बेला भारतसँग लड्ने तागत केवल युवाहरुमा छ, तपार्इँहरु अन्तिम दमसम्म पनि लड्नुस् ।’

सत्ताधारी दलहरु भारतसामू झुकेका कारण नेपालमाथि दिन प्रतिदिन हस्तक्षेप बढेको उनको भनाइ छ । आफ्नो पार्टीलाई सानो भनेर हेला गर्ने गरिएको भन्दै उनले बिचार र मुद्दामा अडिग रहनु नै ठूलो भएको बताए ।

‘हामीले संविधान बनाउँदा नाकाबन्दी गर्ने ? सरकार बनाउँदा हस्तक्षेप गर्ने ? अब उसले यहाँका नदीनालामा आँखा लगाएको छ’, भारत एसियाको नयाँ हिटलर बन्ने दाउमा रहेको बताउँदै उनले भने, ‘नेपाल बचाउन अब युवाहरुले अन्तिम लडाइ लड्नै पर्दछ ।’

अब भारतसँग मात्र निर्भर हुन नहुने भन्दै उनले चीन र बंगलादेशसँग पनि ग्यास र तेल आयातको सम्झौता गरिनु पर्नेमा जोड दिए ।

युवाहरु मैदानमा उत्रिएको खण्डमा नेपालका शासकहरु पनि सही बाटोमा आउने उनको भनाइ छ । त्यसका लागि पनि संघर्ष जारी राख्न उनले युवाहरुलाई निर्देशन दिए ।

देशभरबाट वीरेन्द्रनगरमा भेला भएका पार्टीका युवाहरुलाई सम्वोधन गर्दै नेमकिपाका सचिव शुनिल प्रजापतिले भारतीय हस्तक्षेपबिरुद्ध लड्ने जिम्मेवारी युवाको काँधमा आएको बताए ।

युवाहरु निष्क्रिय भएकै कारण भारतले सीमामा अतिक्रमण जारी राखेको भन्दै उनले अब त्यसबिरुद्ध अन्तिम लडाइ आवश्यक भएको उल्लेख गरे ।

‘सत्ताधारी दलहरुका कारण तराइमा अशान्ति उत्पन्न भएको छ, देशको राजनीति गुण्डा र दलालको हातमा पुग्न लाग्यो । अब पनि इमान्दार र सक्षम युवाहरु चुप लागे भने देशको राजनीति गुण्डाहरुको हातमा पुग्नेछ’, उनले भने, ‘त्यसकारण पनि युवाहरुले आत्मसम्मानको लडाइ सुरु गर्न आवश्यक छ ।’

भारतीय हस्तक्षेपका कारण नेपालको आत्मसम्मान नै गुम्ने खतरा बढेको भन्दै उनले युवाहरुलाई संघर्षमा उत्रन आग्रह गरे । तीन दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटन कार्यक्रममा नेताहरु नवराज कोइराला, जग्यबहादुर शाही, डिल्ली काफ्ले, सांसद अनुराधा थापालगायतले नेपालको स्वाधिनताका लागि अन्तिम लडाइ सुरु गर्न युवाहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया