मोरङमा एक परिवारले ६० वर्षीया बृद्धालाइ बोक्सी भन्दै थाममा बाँधेर मरणासन्न हुने गरी निर्घात कुटपिट गरेका छन्।
मोरङको रतुवामाई नगरपालिका–२ डोरीयाकी ६० वर्षीया बृद्धालाइ उनकै छिमेकी ६५ वर्षीय भीमलालसिंह गनगाईंका परिवारले शुक्रबार राति बोक्सी भन्दै घरको थाममा बाँधेर मरणासन्न हुने गरी निर्घात कुटपिट गरेका हुन्।
कुटाइबाट सख्त घाइते भएकी ती महिलाको हाल कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उनीहरुले कुटपिट गर्दै गर्दा ती महिला बेहोश भएपछी मात्र उनीहरुले छाडेका थिए। त्यसपछि मात्र उनका श्रीमानले प्रहरीलाई खबर गरेको प्राप्त समाचारमा जनाइएको छ।
प्रहरीका अनुसार वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेका थिए ।
हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
घटना अनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग वृद्धाको झगडा परेको थियो । त्यही रिसईबीका कारण बोक्सीको आरोप लगाउँदै वृद्धामाथि कुटपिट भएको पाइएको प्रहरीले जनाएको छ । खाना खाएर राति सुतिसकेपछि होहल्ला गर्दै आएका गनगाईं परिवारका सदस्यले घरैबाट उठाएर लग्दै जितनलालको घरनजिकको गाई बाँध्ने गोठ (पाली)मा पु¥याएर थाममा बाँध्दै एक घण्टासम्म निर्घात कुटपिट गरेर बेहोस बनाएको वृद्धाका श्रीमानले प्रहरीलाई बताएका छन् ।
घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको राईले बताए ।