द्वन्द्वकालीन मुद्धाहरु नियमित अदालतले ब्यूँताएको विरोधमा प्रचण्ड, मोहन बैद्यसहितका सबै माओवादी एक ठाउँमा उभिएका छन र नयाँ शक्तिमा लागेका डा. बाबुराम भट्टराईले पनि साथ दिएका छन् ।
सबै माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सशस्त्र द्वन्द्वकालीन मुद्धाहरु नियमित अदालतबाट हेरिएकोमा विरोध जनाए । उनीहरुले गरेका छन् । द्वन्द्वकालीन मुद्धाहरु सत्य निरुपण र बेपत्ता छानविन आयोगले मात्र हेर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
पछिल्लो पटक ओखलढुंगा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीविरुद्ध पूर्व सभासद केशव राईल दायर गरेको रिट सर्वोच्चले मंगलबार खारेज गरेको थियो । यससँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको छ ।
द्वन्द्वकालीन मुद्धाहरु नियमित अदालतबाट हेरिएको भन्दै शुक्रबार एमाओवादी अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादीका बैद्य, नयाँ शक्तिका हिसिला यमीसहितका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेका छन् । ‘द्वन्द्वकालीन मुद्धाहरु सामान्य अदालती प्रक्रियामा अघि बढाउनु शान्ति सम्झौताको विरुद्ध भयो भनेर ध्यानाकर्षण गराएका छौं’ एमाओवादी अध्यक्ष प्रचण्डले भने ।
उनले आवश्यक परे ऐन संशोधन गरेर भएपनि द्वन्द्वकालीन मुद्धाहरु आयोगले मात्र हेर्ने व्यवस्था गर्नु पर्ने बताए ।
क्रान्तिकारी माओवादीका नेता देवप्रसाद गुरुङले भने, ‘सशस्त्र युद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्नेमा अदालतले राजनीतिक विषयमा हस्तक्षेप गरेको र माओवादी नेता तथा कार्यकर्तालाई कारागार पठाउन खोजिएकामा हामीले आपत्ति जनायौँ ।’
प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएको प्रचण्डले सञ्चारकर्मीहरुलाई जानकारी दिए । ‘टीआरसी आयोग मार्फत हेर्न व्यवस्था गर्न सबै पहल गर्ने जानकारी दिनु भएको छ’ प्रचण्डले भने ।
प्रधानमन्त्री ओलीले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गरिने र विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अगाडि बढ्न सरकार तयार रहेको बताए ।
प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन एमाओवादी अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा माओवादीका संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायतका नेता प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
प्रधानमन्त्रीले माओवादी नेतालाई ४५ मिनेट कुराए
द्वन्द्वकालिन मुद्दाको विषयमा माओवादीका विभिन्न घटक र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार साँझ सिंहदरवारमा भेट्ने कार्यक्रम तय थियो । अधिकांश माओवादी नेताहरु समयमा नै छलफलका लागि प्रधानमन्त्री कार्यालय पुगे तर प्रधानमन्त्री भने ४५ मिनेट ढिलागरी कार्यक्रममा उपस्थित भए ।
बैठकमा शुरुमा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी सिंहदरवार पुगेकी थिइन् । साढे ४ बजे शुरु हुने भनिएको बैठकमा उनी सवा चारमा नै सिंहदरवार पुगेकी थिइन् ।
उनीपछि क्रमशः मात्रिका यादव, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मोहन वैद्य र अन्त्यमा एमाओवादी अध्यक्ष प्रचण्ड पुगेका थिए । प्रचण्ड पनि ढिला गरी ४ः४५ मा पुगे । प्रधानमन्त्री केपी शर्मा ओली भने ५ः१५ तिर मात्र छलफल आइपुगे ।