आफनी श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २७ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
‘पक्राउ परेका युवक जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठाका सञ्जीव साह रहेका छन्ला। उनलाई प्रहरीले जनकपुरधाम उपमहागरपालिका वडा नम्बर चार संकट मोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ७ स्थित माइतमा बस्दै आएकी २१ वर्षीया आरती साहमाथि बिहान करिब साढे ८ बजे एसिड प्रहार गरी फरार भएका साहलाई करीब तीन घण्टा पछि प्रहरीले उनको डेराकोठाबाट पक्राउ गरेको बताइएको छ।

आरतीको हात, अनुहार, पेट, छातीलगायत शरीरको मुख्य भागमै एसिड प्रहार गरिएका कारण अवस्था गम्भीर रहेको जनाइएको छ । उनको शरीरको २० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। सञ्जीवले श्रीमतीमाथि एसिड प्रहार गर्दा ३ वर्षीया छोरी समेतसँगै रहेकी रियालाई पनि परेको छ ।
आमा र छोरी दुवैको उपचार जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा भइरहेको छ । आमाको अवस्था गम्भीर छ भने छोरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
तीन वर्षअघि विवाह भए पनि श्रीमान् संग राम्रो सम्बन्ध नभएपछी आरती माइत बस्दै आएकी थिइन।