सचिवालय बैठक माग गर्ने कार्यकारी अध्यक्ष दाहालसहितका पाँच सचिवालय सदस्यलाई प्रम ओलीले थर्काए, बैठक डाक्न अस्वीकार

सचिवालय बैठक माग गर्ने कार्यकारी अध्यक्ष दाहालसहितका पाँच सचिवालय सदस्यलाई प्रम ओलीले थर्काए, बैठक डाक्न अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०७७
  • 6.2K
    Shares

सचिवालय बैठक माग गर्ने कार्यकारी अध्यक्ष दाहालसहितका पाँच सचिवालय सदस्यलाई प्रम ओलीले थर्काए

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक राख्नुपर्ने लगायतका न्मागहरु राख्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले थर्काएर पठाएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै बुझाएको लिखित पत्र बुझ्दै प्रम ओलीले आफुलाई असफल बनाउन गुटबन्दी गरेको आरोप लगाएको समाचारस्रोतको दाबी छ। पार्टीको एक अध्यक्ष समेत रहेका ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका बताइएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई यी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै लिखित पत्र बुझाएका थिए ।

लिखित पत्र बुझाउन पुगेका बहुमत सचिवालय सदस्यहरुलाई आफुले बैठक बोलाउन नसक्ने स्पस्ट पार्दै ओलीले आक्रामक रुपमा उल्टै प्रश्न गरे, ‘गुटबन्दी भयो, बैठक किन बस्ने ? मलाई असफल  पार्न खोज्ने ? ‘

ओली आक्रामक रुपमा प्रस्तुत भएपछि कार्यकारी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए ।

बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो । अन्तिममा विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्ने र यसमा ओली सहमत हुनपर्ने भन्दै ५ नेताहरु उठेर हिँडेका थिए ।

पत्र बुझाउनु अघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफलसमेत गरेका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन माग गर्दै पत्र लेख्ने निर्णय भएको थियो । पत्रअनुसार बैठक बोलाउन ओली तयार नभए औपचारिक बैठकको तयारीमा लाग्ने सचिवालयका बहुमत सदस्यहरुको तयारी छ ।

प्रतिक्रिया