आज नेपाली मात्रको महान चाड विजयादशमी : टीकाको शुभ साइत नेपालमा बिहान १०:१९ बजे

आज नेपाली मात्रको महान चाड विजयादशमी : टीकाको शुभ साइत नेपालमा बिहान १०:१९ बजे

कुन देशमा कति बजे टीकाको साइत उत्तम हेर्बुस


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०७७
  • 4.7K
    Shares

आज नेपाली मात्रको महान चाड बिजया दशमी दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको छ ।

टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०:१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताए ।

यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।

जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११ः३५, अष्ट्रेलियाको सिड्नीमा बिहान ०९ः४३, अष्ट्रेलियाकै मेलबर्न शहरमा बिहान ९ः५३ बजे, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९ः५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०ः३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०ः४३, कतारको दोहामा बिहान १०ः२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिङ्गापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०ः१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने उनको भनाइ छ ।

सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि दशमीका दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ।

प्रतिक्रिया