रुपन्देहीको तिलोत्तमामा सामूहिक हत्याकाण्ड : पाँच जनाको हत्या गरेको स्वीकार

रुपन्देहीको तिलोत्तमामा सामूहिक हत्याकाण्ड : पाँच जनाको हत्या गरेको स्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 5.7K
    Shares

रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ ।

गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो । त्यस सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् । उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाका अनुसार सुरुमा अभियुक्तले सो घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको भएपनि सोधपुछ गर्दै जाँदा फरुवाले हानेर आफुले नै सबैको हत्या गरेको स्वीकारेका थिए।

गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ । त्यसक्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो ।

घटनामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । करण र आशिष फार्मका कामदार होइनन् ।

उनीहरु के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन । घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयले पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार