राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकी तल्लो सदनमा महाभियोग प्रस्ताव पारित

राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकी तल्लो सदनमा महाभियोग प्रस्ताव पारित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०७६
  • 4.5K
    Shares

डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ । तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् ।

तल्लो सदनमा भएको मतदानमा महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको बताएकी छन् ।

अब यसबारे माथिल्लो सदनले छिनोफानो गर्नेछ । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ । पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो ।

ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार