ओलाङचुङगोलामा बुनेको गलैंचाको माग धान्न मुस्किल पर्न थालेको छ । यहाँको गलैंचाका लागि चीनदेखि माग आउन थालेकाले ७ दिनदेखि महिना दिनपछि मात्रै पाइने अवस्था छ ।
गलैंचामा आफ्नो नाम लेख्न मिल्ने, चाहेको बुट्टा भर्न सकिने र इच्छानुसारको कटिङ हुने भएकाले यहाँको गलैंचा धेरैले किन्न चाहन्छन् । यस्तो माग नेपालभन्दा छिमेकी चीनबाट धेरै आउन थालेको छ । तर, माग आउनासाथ गलैंचा पाउन सकिँदैन । यसका लागि महिना दिनसम्म कुर्नुपर्ने हुन्छ ।
सदरमुकाम फुङलिङबाट तीन दिनको पैदलमा रहेको ओलाङचुङगोला पहिला गलैंचा व्यापार र चौरी पालनले प्रख्यात थियो । गोलाको गलैंचा सदरमुकाम फुङलिङमा बिक्रीका लागि ल्याएर पसलमा राखिन्थ्यो । व्यापारीले गलैंचा बिक्री भएपछि मात्रै बुन्नेलाई पैसा दिए हुन्थ्यो । तर, हाल सदरमुकामका व्यापारीले गलैंचा पाउन छाडेका छन् । बस्तीमै अर्डर पुग्ने भएपछि यस्तो भएको हो ।
नयाँ पुस्ताले यसलाई नअँगालेर बुन्नेको कमी भएपछि गोलाको गलैंचा व्यवसाय नै प्रभावित हुँदै गएको स्थानीय बताउँछन् । बच्चैदेखि गलैंचाको तानमा बसेकी डोङगा शेर्पाले भनिन्, ‘हाम्रो पुस्तादेखि पछाडि गलैंचा बुन्ने कोही पनि हुँदैन ।’ नयाँ पुस्ताले सिक्नै नचाहेको र अभिभावकमा गलैंचा बुनाएर राख्नु हुँदैन पढ्न पठाउनुपर्छ भन्ने भावना भएको उनले बताइन् । ‘मैले पनि मेरो छोरीलाई सदरमुकाम फुङलिङमा पढ्न पठाएकी छु,’ उनले थपिन्, ‘उसले आएर अब तानमा नझुन्डियोस्, जागिर खाओस् भन्ने मेरो पनि चाहना छ ।’
हालसम्म यहाँको गलैंचा महिला मात्रैले बुन्ने गरेका छन् । पुरुषलाई चौरीपालन र महिलालाई गलैंचा बुन्नेमा पहिल्यैदेखि काम विभाजन गरिएको छ । महेन्द्र आधारभूत विद्यालयकी शिक्षिका योङगा बालुङ शेर्पा महिलाहरूले गलैंचा बुन्नुलाई दोस्रो दर्जामा राखेको बताउँछिन् । ‘हिजोआज महिलामा जसरी पनि जागिर खाने भन्ने मात्रै ध्याउन्न छ,’ उनले भनिन्, ‘जागिर नखानेले पनि होटल, ट्रेकिङजस्ता व्यवसाय अँगालेका छन् ।’ त्यसैले गलैंचा बुन्नेको संख्या अधिक घटेको उनले सुनाइन् ।
तिब्बतबाट कच्चा पदार्थ
गलंैचा बुन्न प्रयोग हुने कच्चा पदार्थ चीनको तिब्बतबाट ल्याउने गरिएको छ । ओलाङचुङगोलाको ८० प्रतिशत गलैंचा पनि तिब्बत जान्छ । ‘एउटा गलैंचाकाको मूल्य १४ हजार रुपैयाँ पर्छ । तयारी गर्न ७ हजार रुपैयाँको धागो, भुवाजस्ता कच्चा पदार्थ लाग्ने स्थानीयहरू बताउँछन् । एउटा गलैंचा सिध्याउन एक जनालाई कम्तीमा ७ दिन लाग्छ ।
तिब्बतबाट ऊन ल्याएर नेपालमा बाट्ता लागत बढ्ने भएकाले धागो नै किनेर ल्याउने गरिएको छ । ओलाङचुङगोलामा त बुन्ने काम मात्रै हुन थालेको छ । राम्रो र बलियो हुने भएकाले गलैंचाको लोकप्रियता भने अधिक रहेको व्यापारी दावा एन्ड लामा बताउँछन् । उपहार दिने, कोसेली लाने र जिल्लामा बसेर सरुवा जाने कर्मचारीले यहाँको गलैंचा सम्झनास्वरूप लिएर जाने गर्छन् ।
उद्योगको प्रवद्र्धन
घरेलु तथा साना उद्योग विकास समितिले गलैंचामा नयाँ पुस्तालाई भित्र्याउन कार्यक्रम गर्ने बताएको छ । विगतका वर्षमा ओलाङचुङगोलामा बुन्ने र कटिङ गर्ने तालिम दिएको र भविष्यमा स्तरोन्नतिमा लगानी गर्ने समितिले जनाएको छ । समितिले ६६ जनालाई तानलगायतका सामग्री वितरण गरेको जनाएको छ ।