पक्राउ परेका ठगी आरोपी प्रहरीकै मिलेमतोमा छाडिएको दाबी

पक्राउ परेका ठगी आरोपी प्रहरीकै मिलेमतोमा छाडिएको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०८३
  • 912
    Shares

जनकपुर, ५ मंसीर २०८३।

ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पक्राउ पुर्जी जारी भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर पनि बाटोबाटै छाडिदिएको खबर छ।

सिरहाको लहानमा मुद्दा दर्ता भएका धनुषाको मिथिला बिहारी नगरपालिका-१ का ५४ वर्षीय कुशेश्वर साहलाई शुक्रबार बिहान करिब ११ बजे जनकपुरधाम-४, बंशी चोक नजिकै लहानबाट गएको सादा पोसाकको प्रहरी टोलीले पक्राउ गरेको भए पनि बाटोबाटै छाडिदिएको पनि प्राप्त समाचारमा जनाइएको छ।

समाचारस्रोतलाई उद्धृत गर्दै नेपाल प्रेस डट कमले लेखेको समाचार अनुसार , लहानबाट गएको सादा पोशाकको प्रहरी टोलीले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पक्राउ पुर्जी जारी भएका कुशेश्वर साहलाई शुक्रबार बिहान जनकपुरधाम-४, बंशी चोक नजिकैबाट पक्राउ गरेर हातमा हत्कडी लगाएर लागेको थियो। तर, जिल्ला प्रहरी कार्यालयसम्म नपुर्याई बाटोबाटै छाडिदिएको पीडित पक्षको दाबी छ।

के हो घटना ?

साहले सञ्चालन गरेको सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिलले किसानबाट उधारोमा धान लिएर लामो समयसम्म पैसा नदिएको आरोप छ।

२०८१ सालमा कल्याणपुरका रामनाथ साहले २१ लाख, प्रवेश साहले ४ लाख, बरियारपट्टीका दिनेश साह र अशोक महतोले जनही १० लाख रुपैयाँ बराबरको धान बिक्री गरेका थिए। पटकपटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि उनीहरू प्रहरीमा पुगेका थिए।

पीडितहरूका अनुसार २०८१ पुसमै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न मानेन। जिल्ला प्रहरी, प्रशासन, मधेश प्रदेश प्रहरी, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसम्म धाएपछि करिब डेढ वर्षपछि मात्रै गत साउनमा मुद्दा दर्ता भएको थियो।

पक्राउ र रिहाइ

शुक्रबार लहानबाट दुई प्रहरी पीडितसहित जनकपुरधाम पुगेका थिए। काली होटलनजिकै साहको घरअगाडि नै उनलाई पक्राउ गरिएको थियो। मुजेलिया प्रहरी कार्यालय करिब १ किलोमिटर टाढा भए पनि प्रहरी पुग्न ४०-४५ मिनेट लागेको पीडित रवीन्द्र साहले बताए।

“कुशेश्वरलाई गाडीमा बसाएपछि ढुक्क भयौं। तर जिल्ला प्रहरीमा नल्याएपछि मुजेलिया पुग्दा ‘माथिबाट फोन आएपछि छाडिदियौं’ भन्ने जवाफ आयो,” रवीन्द्रले भने।

पीडितका अनुसार मुजेलिया प्रहरीले साहलाई आफ्नै गाडीमा लगेर घर पुर्याइदिएको हो। उक्त दृश्य घरनजिकैको सीसीटीभीमा कैद भएको र पक्राउको भिडियो तथा तस्बिर आफूहरूसँग रहेको उनीहरूको दाबी छ।

मुजेलिया चौकी इन्चार्ज फणीन्द्र अधिकारीले आफू बिदामा रहेको बताए। अर्का सहइन्चार्ज अनिरुद्धप्रसाद गुप्ताले अर्का सईसँग कुरा गर्न भन्दै फोन काटे।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भने आफूलाई घटनाबारे जानकारी नभएको र बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार