महासचिव पोखरेलले औंल्याए एमालेभित्रका १४ समस्या : जनतासँगको सम्बन्धदेखि गुटबन्दीसम्म

महासचिव पोखरेलले औंल्याए एमालेभित्रका १४ समस्या : जनतासँगको सम्बन्धदेखि गुटबन्दीसम्म


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ मंसिर २०८३
  • 950
    Shares

काठमाडौं, ३ मंसीर २०८३।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीको सङ्गठनात्मक जीवनमा देखिएका प्रमुख १४ समस्या औंल्याएका छन्। काठमाडौंमा सुरु भएको पार्टीको २ दिने राष्ट्रिय भेलामा पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी लिखित प्रतिवेदन प्रस्तुत गर्दै उनले ती कमजोरी सार्वजनिक गरेका हुन्।

प्रतिवेदनमा पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको उल्लेख छ। पार्टीले भविष्यका ठोस अवसर र युवाका तत्कालीन समस्यासँग जोडेर संवाद गर्न नसकेको कमजोरी पनि उनले औंल्याएका छन्।

उनले पार्टी सुदृढीकरणको नाममा फरक विचार राख्नेलाई निषेध गर्न नहुने बताएका छन्। “सुदृढीकरणको उद्देश्य कसैलाई निषेध गर्नु भएन। एउटै प्रकृतिको घटनामा दोहोरो मापदण्ड देखिनु हुँदैन,” उनले प्रतिवेदनमा भनेका छन्।

महासचिव पोखरेलले औंल्याएका १४ समस्या

१. जनतासँगको सम्बन्ध: किसान, मजदुर, साना व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, महिला, युवा, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, भूमिहीन तथा सुकुम्बासीका दैनिक समस्यामा पार्टीको नियमित उपस्थिति प्रभावकारी हुन सकेको छैन। जनसम्पर्कलाई निर्वाचनकेन्द्रित काममा मात्र सीमित नगर्न उनको सुझाव छ।

२. युवा पुस्तासँग संवाद र आवद्धता: रोजगारी, उद्यम, गुणस्तरीय शिक्षा, वैदेशिक पलायन, डिजिटल अवसर, मानसिक स्वास्थ्य र राजनीतिक सहभागिताजस्ता युवाका चिन्तालाई उनीहरुकै भाषा र माध्यमबाट सम्बोधन गर्न सकिएको छैन। युवालाई परिचालनको साधन मात्र नभई नीति निर्माण र नेतृत्व विकासको साझेदार बनाउनुपर्ने उनको भनाइ छ।

३. सूचना–सञ्चार र डिजिटल उपस्थिति: पार्टीका विचार, नीति र तथ्यमा आधारित उत्तर समयमै, सरल भाषामा जनतासम्म पुग्न सकेका छैनन्। गलत सूचना र भावनात्मक भाष्यको सामना गर्न पार्टीको सञ्चार संयन्त्र पर्याप्त सक्रिय हुन नसकेको उनले औंल्याए।

४. कमिटी प्रणाली, कार्यविभाजन र तहगत जिम्मेवारी: सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको सिद्धान्त प्रभावकारी रूपमा लागू हुन सकेको छैन। पार्टी काम निश्चित व्यक्ति र पदाधिकारीमा सीमित बन्दै गएको र सामान्य समस्या पनि सिधै केन्द्रीय तहमा लैजाने प्रवृत्ति बढेको छ।

५. कमिटीको आकार, सक्रियता र कार्यसम्पादन: धेरै कमिटी अत्यधिक ठूला, भद्दा र औपचारिक बनेका छन्। बैठक सिर्जनात्मक बहसभन्दा औपचारिक अनुमोदनमा सीमित हुने र कतिपय कमिटी नाम मात्रका रहेको उनले बताए।

६. कार्यकर्ता मूल्याङ्कन, अवसर वितरण र असन्तोष व्यवस्थापन: मूल्याङ्कन वैज्ञानिक र कार्यसम्पादनमा आधारित हुन सकेको छैन। सङ्गठनात्मक काममा खटिनेभन्दा अवसरका लागि नेतृत्वको वरिपरि घुम्ने प्रवृत्तिले प्राथमिकता पाएको अनुभूति कार्यकर्तामा देखिएको छ।

७. पार्टी सदस्यता व्यवस्थापन र कार्यकर्ता निर्माण: सदस्य संख्या बढाउने नाममा गुणस्तरहीन सदस्यता वितरणले सङ्गठनको वास्तविक शक्ति कमजोर बनाएको छ। कागजी सदस्य बढे पनि नियमित सम्पर्कमा रहने र प्रशिक्षण लिने सदस्य अपेक्षाअनुसार बढ्न सकेका छैनन्।

८. नेतृत्व विकास, पुस्तान्तरण र बहुपदीय संरचना: नेतृत्व विकास र हस्तान्तरणको योजनाबद्ध प्रणाली स्थापित हुन सकेको छैन। पुरानो र नयाँ पुस्ताबीच विश्वास र सहकार्य कमजोर हुँदा पार्टी निर्माणमा असर परेको छ। कतिपय पदाधिकारी जिम्मेवारीविहीन हुने अवस्था पनि देखिएको छ।

९. आन्तरिक लोकतन्त्र, आलोचना–आत्मालोचना र पार्टी अनुशासन: कमिटीभित्र खुला छलफल र आलोचना–आत्मालोचनाको संस्कृति कमजोर भएको छ। सुझाव वा आलोचनालाई व्यक्तिगत आक्षेपका रूपमा लिने प्रवृत्तिले कार्यकर्तालाई कमिटीभित्र बोल्न असहज बनाएको छ।

१०. अनुशासनहीनता, गुटबन्दी र अन्तर्घात: अनुशासन उल्लङ्घन, स्थायी गुटबन्दी, असहयोग र निर्वाचनमा अन्तर्घात सङ्गठनका लागि गम्भीर चुनौती बनेका छन्। यस्ता विषयमा समयमै निष्पक्ष कारबाही नहुँदा अराजकता बढेको उनको ठहर छ।

११. उम्मेदवार छनोट र जनप्रतिनिधिको उत्तरदायित्व: उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस, जनसम्पर्क, इमानदारी र जनविश्वासलाई पर्याप्त महत्व नदिइएको गुनासो छ। अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्ने र पहुँचका आधारमा निर्णय हुने समस्या देखिएको छ।

१२. जनसंगठनको स्वायत्तता र प्रभावकारी परिचालन: पार्टीसम्बद्ध जनसंगठनले सम्बन्धित वर्ग र पेशागत क्षेत्रका वास्तविक मुद्दामा अपेक्षित नेतृत्व गर्न सकेका छैनन्। पार्टीप्रतिको अत्यधिक निर्भरता र अनावश्यक हस्तक्षेपले जनसंगठनको स्वायत्तता कमजोर भएको छ।

१३. शासन, सेवा प्रवाह र नैतिक विश्वास: सरकारमा हुँदा ठूला नीति र पूर्वाधार मात्र पर्याप्त नहुने भन्दै उनले अस्पताल, मालपोत, प्रहरी, विद्यालय, किसान सहायता र कर प्रशासनमा जनताले पाउने व्यवहारले नै सरकार र पार्टीप्रतिको धारणा निर्माण गर्ने बताए। “राम्रो काम गरेर मात्र हुँदैन रहेछ, राम्रो देखिन पनि सक्नु पर्छ,” उनले भने।

१४. वैचारिक काम र नयाँ प्रश्नको सामना: कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, वैदेशिक श्रम, सहरी गरिबी, गिग अर्थतन्त्र, शिक्षा, मानसिक स्वास्थ्य र महिला सुरक्षाजस्ता नयाँ विषयमा पार्टीको ध्यान आवश्यक मात्रामा जान नसकेको उनले औंल्याए।

महासचिव पोखरेलले पार्टीमा देखिएका कमी–कमजोरीलाई जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै सामूहिकतामा आधारित पार्टी संस्कृति विस्तार गरेर अघि बढ्नु आजको आवश्यकता रहेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार