आदरणीय बजार अनुगमन अधिकृतज्यु !
बिषयले अन्य अर्थ नलागोस र कोही कसैको मान मर्दन गर्न खोजिएको अर्थमा पनि नाबुझियोस। गलत अर्थ लागेमा शुरुमा नै माफी चाहन्छु। के गृह मन्त्रालयले आजकल उपसचिव वा शाखा अधिकृत वडा प्रहरी कार्यालय वा प्रहरी चौकीमा खटाउन शुरु गरेको हो र भन्या ?
नेपाली मात्रको महान चाड दशैं सकियो, अर्को ठुलो चाड तिहार पनि मुखैमा छ. बजार भाउ अचाकली भएको छ। कोही कसैको ध्यान गएको छैन। बजार अनुगमन गर्ने जिमेवारी र अधिकार पाएको जिल्ला प्रशासन कार्यालय कास्कीका बजार अनुगमन अधिकृत जिल्लाका नाका – नाकामा प्रहरी लिएर पुगेका छन्। आफु छेउमा उभिन्छन। ट्राफिक प्रहरी र प्रहरीहरुले सवारी साधनहरु रोकेर चेकजांच गरिरहेका हुन्छन। त्यहाँ बजार अनुगमनको अधिकार पाएका सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थिति बाहेक अरु केही काम हुन्न। त्यो ड्युटी ट्राफ़िक प्रहरी र प्रहरीहरुले अहिले आएर मात्र शुरु गरेका हैनन्। जागिर शुरु गरे देखि नै उनीहरुलाई तोकिएको जिम्मेवारीहरुमध्येका ती पनि हुन्।
मेरो पत्रकारिता जीवनको ३० औं वर्ष प्रवेश गरेको अवस्था छ। म बिशेष गरेर अपराध अन्वेषण एबम खोजी पत्रकारितामा अलिक चासो दिन्छु। मैले मेरो पत्रकारिता जिवनमा ट्राफिक प्रहरी चेकिङमा निजामति कर्मचारीतर्फका अधिकारीहरु देखेकै छैन। मैले थाहा नपाएको पनि हुनसक्छ। अन्यत्र त्यस्तो प्रचलन पनि हुनसक्छ। यदि त्यस्तो प्रचलन भएको भए माफी चाहन्छु। म गल्ती स्वीकार गर्छु। तर मैले त एक जना ट्राफिक प्रहरी जवान उभिएर गाडी रोक्दै अन्य प्रहरीहरुले आबश्यकता अनुसार सवारी चेकिङ्ग गरेको देख्दै आएको छु। त्यसो त कानुनत: त्यस्तो सवारी चेकिङमा एक जना जुनियर प्रहरी अधिकृत भए पनि अनिबार्य उपस्थित हुनु पर्ने कानूनी ब्यबस्था छ क्यार।
बजार अनुगमन अधिकृतज्यु , तपाईंको अधिकार क्षेत्रभित्र सुरक्षाको दृष्टिकोणले सवारी चेकिङ पनि प्राथमिकतामा परेको होला। तर त्यो सवारी चेकिङमा तपाईंको उपस्थिति अनिवार्य नै हो र ? त्यो सवारी चेकिङमा तपाईंको उपस्थितिले तात्विक फरक के पर्छ ? त्यो सवारी चेकिङ्ग नेपाल प्रहरीले गरेकै छैन र ? त्यो जिम्मेवारी नेपाल प्रहरीलाई निर्बाध रुपमा गर्न दिए हुन्न र ? कि नेपाल प्रहरीको जुनियर अधिकृतको उपस्थितिमा हुन सक्ने सवारी चेकिङमा बजार अनुगमन अधिकृतको जिम्मेवारी पाएको सहायक प्रमुख जिल्ला अधिकारी उपस्थित हुने पर्ने हो र ?
चाडवाडको बेला बजार अनुगमन अधिकृतको ध्यान सवारी चेकिङ्ग मात्र हो कि बजार भाउ तथा कालाबजारी नियन्त्रण पनि हो ? कि बजार अनुगमन गरिएकै कारण यसभन्दा अघिका बजार अनुगमनमा संलग्न अधिकारीहरुको कार्यावधि नपुग्दै सरुवा भएको देखेर तपाईंको मुटु कामेको हो ? कामेको मुटुले त काम गर्न सकिन्न नि हजुर। मुटु दह्रो गरेर कास्की जिल्लामा देखिएको बजारको अस्तव्यस्तताको अनुगमन गरेर कारबाही गर्ने हिम्मत गर्नुस। दलाल , बदमासहरुले आफ्नो राजनीतिक पहुँचका आधारमा तपाईंको सरुवा गर्न सक्छन। जागिर नै खाने त हैनन् नि। तपाईंलाई सरुवा गरेर अर्कै देशमा सरुवा गर्ने त हैनन् नि। नेपाल सरकारले खटाएको देशभित्रको जुनसुकै स्थानमा जान तयार छु भनेर जागिर खानु भएको हैन र ?
देश र जनताको सेवा गर्छु भनेर जागिर खानु भएको हो। देश र जनताको पक्षमा काम गर्दा तपाईंलाई सरुवा गर्छन भने निर्धक्क भएर छाती फुलाउँदै गर्वका साथ सरुवा भएको ठाउँमा गएर सेवा दिनुस, त्यहाँ पनि देश र जनताको पक्षमा काम गर्नुस। त्यहाँबाट पनि दुष्टहरुले कहाँ सरुवा गर्लान र ? दास र त्रासको मानसिकता बोक्नु भयो भने त केही भन्न सकिन्न। कार्यावधि एक वर्ष पूरा नहुदै सरुवा गर्दा मुनासिब कारण देखाइनु पर्छ। कार्यबधि अगावै सरुवा गरिए त्यस सरुवाको विपरीत अदालत जाने बाटो छदै छ त। आफ्नो अधिकार प्रयोग गर्ने कि नगर्ने वा सरकारको नाममा हुने दमन सहने तपाईंको कुरा हो ?
सानो र छोटो मान्छेले ठुलो र चर्को कुरा गरें। माफ गर्नु होला। देश र जनताको सेवा गर्छु भन्ने कसम खाएको तपाईंले त्रासरहित भएर सेश र जनताको सेवा गर्नु हुनेछ भन्ने आशा गरेको छु। झोले कार्यकर्ताको आदेश मान्दा आज देशमा देशकै सम्मानित पदमा पुगेका मानिसहरुको हालत देखिरहनु भएकै छ। सत्ता र सरकार स्थायी हैनन्। तर कर्मचारीसेवा स्थायी हुन्छ। स्थायी शक्तिले अस्थायी शक्तिलाई सहयोग गर्नु पर्छ। तर सहयोगको नाममा गैरकानूनी कार्यमा सहयोग गर्न पर्छ भन्ने मलाई लाग्दैन।
हिजो अस्थायी शक्तिका आदेश मान्द आज स्थायी शक्तिमा रहनेहरु जेल र नेल खाइरहेका छन्। देश र जनताको पक्षमा कम गर्दा जेल र नेल खान परे पनि हिम्मत गर्नुस। यस्ता दलाल र फटाहाहरुको त्रासबाट नतर्सिनुस। देश र जनताको पक्षमा काम गर्नुस। शुभकामना