काठमाडौं – झापामा दुई फरक कसुरमा पक्राउ पुर्जी जारी भएका हल्दिबारीका नितेश ओली गोरखामा गृहमन्त्री सुदन गुरुङसँगै देखिएपछि विवाद चर्किएको छ।
आफूलाई पत्रकार भन्दै हिँडेका ओलीले गृहमन्त्री गुरुङसँग छहरामा बसेर भिडियो खिचेको र गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसँग तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना बाहिरिएको हो।

अभियुक्त नितेश ओली गोरखामा गृहमन्त्री सुदन गुरुङसँगै
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ओलीविरुद्ध दुई फरक घटनामा पक्राउ प्रक्रिया अघि बढेको थियो। पहिलो, सशस्त्र प्रहरीका एसएसपी सुदिरजंग थापाविरुद्ध अभद्र व्यवहार गरेको आरोपमा सुनसरी प्रहरीले ०८२ मंसिर २१ गते झापा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो। दोस्रो, पत्रकार महासंघ झापा शाखाका पदाधिकारीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाएको आरोपमा ०८३ असार १५ गते साइबर अपराध कसुरमा जिल्ला अदालत झापाबाट पक्राउ अनुमति लिइएको थियो। तर, झापा प्रहरीले लामो समयसम्म उनलाई पक्राउ गर्न सकेन। प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले फरार रहेकाले पक्राउ गर्न नसकिएको बताएका छन्।
यता, पत्रकार महासंघ झापा शाखाले ओलीले पत्रकारिताको नाम दुरुपयोग गर्दै उद्योगी-व्यवसायीसँग रकम मागेको र महासंघका पदाधिकारीलाई लक्षित गरी चरित्रहत्या गरेको आरोप लगाउँदै गएको साउन १८ गते विज्ञप्ति जारी गर्दै तत्काल पक्राउ गर्न माग गरेको थियो। महासंघका अनुसार पक्राउ पुर्जी जारी हुँदा पनि ओलीका फेसबुक, मेसेन्जर र ह्वाट्सएप निरन्तर सक्रिय थिए।
गोरखाका सीडीओ मिश्रले ओलीले आफूलाई पत्रकारको परिचय दिएको र झापाको पक्राउ पुर्जी बारे जानकारी नभएको बताएका छन्। “झापाको पक्राउ पुर्जी गोरखाको सीडीओलाई थाहा हुने कुरा भएन, अब थाहा भयो,” मिश्रले भने।
झापा प्रहरीले भने साइबर अपराधसम्बन्धी अनुसन्धान सकेर फाइल अदालतमा बुझाइसकेको जनाएको छ। तर अदालतमा मुद्दा दायर हुनु र पक्राउ पुर्जी कार्यान्वयन हुनु फरक प्रक्रिया भएकाले प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठेको छ।
गृहमन्त्रीसँग फरार अभियुक्तको तस्बिर सार्वजनिक भएपछि गृह प्रशासनले यसबारे स्पष्ट पार्नुपर्ने माग उठेको छ। यो भेट संयोग थियो कि औपचारिक कार्यक्रममा भएको थियो? र फरार अभियुक्त गृहमन्त्रीको नजिकसम्म कसरी पुगे? भन्ने प्रश्नको जवाफ गृह मन्त्रालयले दिनुपर्ने देखिन्छ।