सुनकोशी सुमो दुर्घटना प्रकरण : मृत्यु भएका तीन जनाकै भयो पहिचान, बेपत्ता तीन जनाको खोजी जारी

सुनकोशी सुमो दुर्घटना प्रकरण : मृत्यु भएका तीन जनाकै भयो पहिचान, बेपत्ता तीन जनाको खोजी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०८३
  • 532
    Shares

सिन्धुली, १ कात्तिक २०८३।

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीन जना युवतीको पहिचान खुलेको छ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेर भएको दुर्घटनामा मृत्यु भएका तीन जना महिलाको पहिचान खुलेको हो।

उक्त दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्। उनीहरू दशैं मनाउन घर जाँदै थिए।

सोही दुर्घताबना परेर घाइते भएका चार जनामध्ये सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा बेहोश अवस्थामा छन्। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा पनि घाइते भएका छन्। उनीहरूको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि बेपत्ता भएका तीन जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। खोजी तथा उद्धारका लागि गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। सुमोमा १० जना सवार रहेको विवरण सार्वजनिक भएको छ।

प्रहरीका अनुसार सुमो राति ११ बजे काठमाडौंस्थित प्रस्थान बिन्दुबाट खोटाङतर्फ लागेको थियो। चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण पुष्टि हुन बाँकी छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार