लमजुङको सुपर ङादी हाइड्रोपावरमा तीन दिनमै दुई कामदार भीरबाट खसे, एकको मृत्यु

लमजुङको सुपर ङादी हाइड्रोपावरमा तीन दिनमै दुई कामदार भीरबाट खसे, एकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०८३
  • 418
    Shares

लमजुङ, , १९ असोज २०८३।

उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावर आयोजनामा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेश कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रहरीका अनुसार सोमबार कामकै क्रममा रहेका चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी प्रदेश अस्पताल लमजुङ लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

तीन दिनमा दुई कामदार खसे

यस आयोजनामा पछिल्लो तीन दिनको अवधिमा दुई जना कामदार भीरबाट खसेका छन्। यसले आयोजनाको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको छ।

यसअघि असोज १७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय रविन बस्नेत पनि सोही आयोजनामा काम गर्ने क्रममा भीरबाट खसेर घाइते भएका थिए। आयोजना स्थलभन्दा करिब एक किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा बाटोमा चिप्लिएर उनी करिब ६० मिटर तल भीरको खोंचमा खसेका थिए।

घाइते बस्नेतको छाती र बायाँ हातमा गम्भीर चोट लागेको र उनको प्रदेश अस्पताल लमजुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

लगातार कामदार भीरबाट खस्न थालेपछि आयोजनाले कामदारको सुरक्षाका लागि अपनाउनुपर्ने न्यूनतम सुरक्षा मापदण्ड समेत पालना नगरेको भन्दै स्थानीय स्तरमा आलोचना भएको छ। सम्बन्धित निकायले तत्काल अनुगमन गरी सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने माग उठेको छ।

प्रतिक्रिया