तनहुँ, ९ असोज २०८३।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। पहिरोमा एउटा मोटरसाइकल पुरिएको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
बिहीबारदेखिको अविरल वर्षाका कारण आज माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा थुनिएको हो। सडकमा गुडिरहेको अवस्थामा रहेको एउटा मोटरसाइकल पहिरोमा पुरिएको र चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पृथ्वी राजमार्गको घाँसीकुवा खण्ड पहिरोको उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चिनिन्छ। यसअघि पनि यसै स्थानमा पटक-पटक पहिरो खस्दा राजमार्ग घण्टौँसम्म अवरुद्ध हुँदै आएको छ। मुग्लिन-पोखरा सडक विस्तारको क्रममा भिर काटिएका कारण यो खण्डमा पहिरोको जोखिम झन बढेको हो।
पहिरोले आँबुखैरेनीदेखि कोत्रेसम्मको करिब ७२ किलोमिटर राजमार्ग प्रभावित हुने गरेको छ, जसमा कुम्लेखोला, घाँसीकुवा र छिर्कने मुख्य पहिरोग्रस्त क्षेत्र हुन्।
अहिले राजमार्ग खुलाउनका लागि निर्माणाधीन मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को टोली र प्रहरीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ। वर्षा जारी रहेकाले पन्छाउने काममा कठिनाइ भइरहेको छ।
राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। सडक एकतर्फी भए पनि सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



