विराटनगर, ९असोज २०८३।
विराटनगर महानगरपालिका–६ को नेपाली कांग्रेस वडा अधिवेशनमा विवाद भएपछि एक जना पक्राउ परेका छन्।
शुक्रबार दिउँसो करिब १:४० बजे विराटनगर–६ स्थित बलभद्र सेवा समिति केसलियाको सभाहलमा जारी वडा अधिवेशनका क्रममा विवाद भएको हो।
प्रहरीका अनुसार मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवार विराटनगर–६ निवासी ४४ वर्षीय इरसाद अहमदले विपक्षी उम्मेदवारहरूसँग होहल्ला गर्दै विवाद सिर्जना गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
विवाद बढ्न थालेपछि अधिवेशनस्थलमा खटिएको प्रहरी टोलीले अहमदलाई तत्काल नियन्त्रणमा लिएको थियो। हाल उनलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विवादका कारण केहीबेर अधिवेशन अवरुद्ध भए पनि अहिले स्थिति सामान्य रहेको बताइएको छ। फोटो : मेटा