हलेसी मन्दिरका हेरालु पुजारी गिरी पक्राउ : जातीय दुर्व्यवहारको आरोप

हलेसी मन्दिरका हेरालु पुजारी गिरी पक्राउ : जातीय दुर्व्यवहारको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 532
    Shares

काठमाडौं, ९ असोज २०८३ ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव मन्दिरका हेरालु पुजारी गोपाल गिरी पक्राउ परेका छन्। मन्दिर दर्शन गर्न पुगेका स्थानीय युवा युवराज शंकरमाथि जातीय दुर्व्यवहार र हातपात गरेको आरोपमा हेरालु पुजारी गोपाल गिरी पक्राउ परेका हुन्।

गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार हलेसीबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रवक्ता निराजन बस्नेतका अनुसार उनलाई अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद थप गरिएको छ।

पिडित शंकरका अनुसार गत साउन १८ गते मन्दिरमा दर्शनका लागि लाइनमा बसेका बेला गिरीले आफूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज र हातपात गरेका थिए। विवादपछि उनले पनि गिरीलाई धकेलेको बताएका छन्।

घटनापछि मन्दिर व्यवस्थापन समितिमा छलफल भए पनि गिरीले आरोप अस्वीकार गरेपछि निष्कर्ष निस्किएको थिएन। शंकरले घटनाको सीसीटीभी फुटेज उपलब्ध गराउन मागसमेत गरेका थिए।

गिरीका छोराले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै शंकरले राष्ट्रिय दलित आयोगमा उजुरी दिएका थिए। आयोगले घटनाबारे अनुसन्धान गरी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले गिरीलाई पक्राउ गरेको हो।

गोपाल गिरी हलेसी मन्दिरका परम्परागत पुजारी नभई २०६२ सालमा गठित गुफा समितिले हेरालुका रूपमा नियुक्त गरेको व्यक्ति भएको सम्बन्धित पक्षको दाबी छ। हलेसीको परम्परागत पुजारीको अधिकारबारे यसअघि सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो। अदालतले ताम्रपत्र र खड्गनिशानीबाट प्राप्त परम्परागत अधिकारअनुसार पूजाआजा गर्नबाट नरोकिने आदेश दिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आरोप पुष्टि हुन भने अनुसन्धान र न्यायिक प्रक्रिया पूरा हुन बाँकी छ।

प्रतिक्रिया