कृष्णभीरमा फेरि पहिरो खस्यो : पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कृष्णभीरमा फेरि पहिरो खस्यो : पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 874
    Shares

landslide in krishnabhir, कृष्णभीरमा फेरि पहिरो

काठमाडौं, ९ असोज २०८३ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा फेरि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडक माथिबाट ठूला ढुंगा, चट्टान र माटोसहितको पहिरो खसेपछि कृष्णभीर खण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। निरन्तर वर्षा भइरहेकाले थप पहिरोको जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।

कृष्णभीरमा यसअघि पनि बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग लामो समय अवरुद्ध भएको थियो। गत भदौ १० र १४ गते आएको बाढीले त्रिशूली नदीतर्फबाट सडक कटान गरेपछि करिब १ सय मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सडक भासिएपछि कृष्णभीरमा १८ दिनसम्म यातायात ठप्प बनेको थियो।

सडक विभागले मुख्य सडकको क्षतिग्रस्त भागभन्दा माथि नयाँ ट्र्याक निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालनको व्यवस्था गरेको थियो। करिब २ सय ७० मिटर नयाँ ट्र्याक निर्माण तथा ग्राभेल गरेपछि असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। नयाँ ट्र्याक सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित पृथ्वी राजमार्गको यातायात क्रमशः सहज बन्दै गएको थियो।

तर, नयाँ ट्र्याक सञ्चालनमा आएको केही दिनमै फेरि वर्षासँगै पहिरो खसेपछि उक्त खण्डको सडक सुरक्षामाथि प्रश्न उठेको छ। सडक विभागले नयाँ ट्र्याकलाई तत्कालीन समाधानका रूपमा प्रयोग गर्दै यसको अवस्था निरन्तर निगरानी गर्ने जनाएको थियो। दीर्घकालीन समाधानका रूपमा कृष्णभीरमा सुरुङ निर्माण, बाइपास पुल तथा त्रिशूलीपारिको वैकल्पिक सडक स्तरोन्नतिलगायत विकल्पबारे अध्ययन भइरहेको छ।

यसअघि पनि कृष्णभीरभन्दा करिब १ सय मिटर अगाडि लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी बनेको थियो। निरन्तर पानी परिरहेकाले पहिरो पन्छाएर सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अहिलेको अवस्थाका कारण काठमाडौं–चितवन तथा पूर्वी र पश्चिमी नेपाल जोड्ने प्रमुख मार्गमध्ये एक पृथ्वी राजमार्गमा आवागमन प्रभावित भएको छ। सडक खुलाउन पहिरो पन्छाउने कामका लागि सम्बन्धित निकायले आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्नुपर्ने अवस्था छ। वर्षा जारी रहेकाले यात्रुलाई कृष्णभीरलगायत पहिरोको जोखिम भएका सडकखण्डमा सावधानी अपनाउन र सम्बन्धित निकायको सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया