पोखरा, ८ असोज २०८३ ।
रौतहटको सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित “रास्वपाका स्थानीय नेता भोला साहको घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्री बरामद भएको छ।
सशस्त्र प्रहरीका अनुसार भन्सार छली गरी मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्री लुकाएर राखिएको सूचनाका आधारमा मंगलबार राति करिब १ बजे उक्त घरमा छापा मारिएको हो।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टको निर्देशनमा परिचालित टोलीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका प्रमुख एसपी चेतराज जोशीको कमान्डमा घरमा खानतलासी गरेको थियो। खानतलासीमा ४५ जना सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सहभागी थिए।
खानतलासीका क्रममा घरभित्र बेवारिसे अवस्थामा लुकाएर राखिएका मोबाइलसँग सम्बन्धित विभिन्न पार्टपुर्जा तथा सामग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीको प्रारम्भिक मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ रहेको बताइएको छ।
त्यसैगरी, सोही स्थानबाट दुई थान मोटरसाइकलसमेत बरामद गरिएको छ।
बरामद मोबाइलसम्बन्धी सामग्री र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ। गौर भन्सार कार्यालयका प्रमोदकुमार सिंहले बरामद सामग्री कार्यालयमा बुझाइएको जानकारी दिए।
घटनाबारे भन्सार कार्यालयले आवश्यक अनुसन्धान तथा प्रक्रिया अघि बढाएको जनाएको छ।