हर्मुजमा मालवाहक जहाजमाथि हमला : भारतीय नाविकको मृत्यु

हर्मुजमा मालवाहक जहाजमाथि हमला : भारतीय नाविकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असोज २०८३
  • 646
    Shares

पोखरा, ७ असोज २०८३ ।

ओमानको तट नजिक हर्मुज क्षेत्रमा भारततर्फ आउँदै गरेको मालवाहक जहाजमाथि हमला हुँदा एक भारतीय नाविकको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तर प्रदेशको देवरियाका सूरज यादव रहेका छन् ।

रिपोर्टअनुसार, एन्टिगुवा एन्ड बारबुडा झन्डा बोकेको मालवाहक जहाज एमभी केप डाओमाथि बुधबार ओमान नजिक हर्मुज क्षेत्रमा हमला भएको हो । जहाजमा चालक दलका २८ सदस्य थिए, जसमध्ये १९ जना भारतीय नागरिक रहेको बताइएको छ ।

यादव जहाजमा ‘वाइपर’का रूपमा कार्यरत थिए । हमलाका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

समुद्री प्रशासनसम्बन्धी रिपोर्टअनुसार जहाजमाथि दुईवटा टर्पेडो प्रहार गरिएको थियो । एउटा प्रहार जहाजको बायाँपट्टिको आवासीय क्षेत्रमा र अर्को इन्जिन कक्षतर्फ भएको बताइएको छ । हमलापछि जहाजमा आगलागी हुनुका साथै विद्युत् आपूर्ति र जहाजको दिशा नियन्त्रण गर्ने प्रणालीमा समेत असर परेको थियो ।

ओमानको तटरक्षक बलले जहाजका चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ । घटनामा एक भारतीय चौथो इन्जिनियर सामान्य घाइते भएको जानकारी पनि सार्वजनिक भएको छ ।

सम्बन्धित कम्पनीहरूले जहाजका मालिक तथा व्यवस्थापन पक्षसँग समन्वय गरिरहेका छन् । घटनाबारे विस्तृत प्रतिवेदन तयार पार्ने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको जनाइएको छ ।

यसैबीच, फरवार्ड सीमेन युनियन अफ इन्डियाले घटनाप्रति चिन्ता व्यक्त गर्दै भारतीय नाविकहरूको सुरक्षा सुनिश्चित गर्न र हमलाको जिम्मेवारी तय गर्न माग गरेको छ । संगठनले हर्मुज तथा आसपासका समुद्री क्षेत्रमा कार्यरत नागरिक नाविकहरू निरन्तर जोखिममा रहेको जनाएको छ ।

संगठनले मृतक नाविक सूरज यादवका परिवारलाई न्याय र आवश्यक सहयोग उपलब्ध गराउनसमेत माग गरेको छ । साथै, नाविकहरूले आगामी २५ सेप्टेम्बरमा कालोपट्टी बाँधेर विरोध जनाउने घोषणा गरेका छन् । एजेन्सीबाट

प्रतिक्रिया