वीरगन्ज, ६ असोज २०८३।
पर्सामा एक महिलाको हत्या गरेर घरमा लुटपाट गरिएको छ।
चोरी गर्न पसेको समूहद्वारा पर्सामा ६० वर्षीया महिलाको हत्या गरेर गरगहना र नगद लुटेर बेपत्ता भएका छन्।
पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ धोबिनीमा स्थानीय ६० वर्षीया लखराजो देवी तुरहाको सोमबार बिहान हत्या गरेर गरगहना र नगद लुटपाट गरिएको हो।
प्रहरीका अनुसार , तीन तले घरको तल्लो कोठामा लखराजो देवी सोमबार बिहान मृत भेटिएकी थिइन्। सोमबार बिहान अबेरसम्म श्रीमती पूजा गर्न तल नआएपछि श्रीमान् खोज्दै माथिल्लो तलामा जाँदा उनलाई मृत अवस्थामा फेला पारेका थिए।
चोर समूहले पछाडिबाट फलामको रडले टाउकोमा प्रहार गरेको र गम्भीर चोटका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ।
हत्या गरेपछि समूहले मृतकको शरीरमा लगाइएका गरगहनासहित घरमा राखिएका लाखौं रुपैयाँ बराबरका गरगहना तथा नगद समेत लिएर फरार भएको बताइएको छ। चोरी भएको सम्पत्तिको यकिन विवरण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
अनुसन्धानलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्साबाट तालिमप्राप्त कुकुर समेत घटनास्थलमा परिचालन गरिएको छ। प्रहरीले सम्भावित प्रमाण संकलन र संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी अघि बढाएको छ।
मृतकका छोरा अभिलाष साह काठमाडौंमा माछा व्यवसाय गर्दै श्रीमती र छोराछोरीसहित बस्दै आएका छन्। आमाको हत्या भएको खबर पाएपछि उनी पर्सा आएका छन् र घटनामा संलग्नको पहिचान गरी कडा कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्।
घरभित्रै चोरीको क्रममा वृद्ध महिलाको हत्या भएको घटनाले धोबिनी क्षेत्रमा त्रास र सुरक्षा चिन्ता बढाएको छ। घटनामा कति जनाको संलग्नता थियो, कति रकम र गरगहना चोरी भयो भन्ने विषय विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।