गोरखामा चन्दा असुल्दै गर्दा माओवादीका दुई जना नेता–कार्यकर्ता पक्राउ : नगदसहित सामग्री बरामद

गोरखामा चन्दा असुल्दै गर्दा माओवादीका दुई जना नेता–कार्यकर्ता पक्राउ : नगदसहित सामग्री बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असोज २०८३
  • 551
    Shares

पोखरा, ५ असोज २०८३ ।

गोरखामा चन्दा असुल्दै गर्दा माओवादीका दुई जना नेता–कार्यकर्ता’ पक्राउ परेका छन्।

गोरखाको शहीद लखन गाउँपालिका–१ बक्राङमा चन्दा असुली गरिरहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दुई जना नेता–कार्यकर्ता पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ३८ वर्षीय राजकुमार माझी रहेका छन्। उनीहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नेता–कार्यकर्ता रहेको प्रहरीको भनाइ छ। उनीहरूको साथबाट नगदसहित पार्टीको स्ट्याम्प, रसिद प्याड तथा पर्चा–पम्प्लेट बरामद भएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार, शहीद लखन गाउँपालिका–१ खहरेटोल निवासी रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेललाई आज दिउसो करीब एक बजेको समयमा आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ता भएको परिचय दिँदै डर, धाकधम्की तथा ज्यान लिने सम्मको भाषा प्रयोग गरी पार्टीको लेटरप्याडमार्फत चन्दा मागिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले चन्दा असुली गरिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको हो।उनीहरूको साथबाट नगद २० हजार रुपैयाँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को स्ट्याम्प १ थान, रसिद प्याड २ थान तथा पर्चा/पम्प्लेट ५० थान बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि चन्दा असुलीसम्बन्धी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। अनुसन्धानपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया