पोखरा , ३१ भदौ २०८३ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित कालीगण्डकी कोरिडोर (जोमसोम–मुक्तिनाथ) सडकखण्डमा मिनिबस पल्टिँदा १२ जना घाइते भएका छन्।
मुक्तिनाथबाट कागबेनीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६०९ नम्बरको मिनिबस अनियन्त्रित भई सडकमा पल्टिएर पल्टिँदा १२ जना घाइते भएका हुन्।
प्रहरीका अनुसार , सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्ने अन्दाजी ४४ वर्षीय रुपेन थापाले चलाएको बसमा चालक र सहचालकसहित २५ जना सवार रहेका थिए । दुर्घटनामा घाइते हुनेहरूमा अधिकांश भारतीय नागरिक रहेका छन्।
घाइते सबैको प्रदेश अस्पताल जोमसोम, मुस्ताङमा उपचार भइरहेको छ। बसमा सवार अन्य १३ जना यात्रुको अवस्था सामान्य रहेको छ।
घाइतेहरुको विवरण यसप्रकार छ :
१) भारत साकरपुर लक्ष्मीनगर दिल्ली बस्ने ६८ वर्षीय वेदपाल शर्मा,
२) भारत मण्डावली फापरपुर ग्राम वेल-३५८ बस्ने ६५ वर्षीया रेणु झा,
३) सोही स्थान बस्ने ६२ वर्षीया लता रानी कश्यप,
४) भारत सकरपुर ११००९२ बस्ने ६२ वर्षीया नरेन्द्र देवी,
५) दिल्ली बस्ने ५० वर्षीया किरण जोशी,
६) दिल्ली बस्ने ६२ वर्षीया लता भाटिया,
७) ६२ वर्षीया गिता,
८) ४५ वर्षीया सन्ध्या टाईगल,
९) ६२ वर्षीया सरोजा भाटिया,
१०) ६५ वर्षीया रेखा गोयल,
११) २८ वर्षीय घोरेला,
१२) ५२ वर्षीया सपना ठाकुर।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कागबेनीबाट प्रहरी सहायक निरीक्षक रुकबहादुर थापा र जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो।
बस चालक रुपेन थापालाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।