पोखरा , ३१ भदौ २०८३ ।
अविरल वर्षाका कारण आएको बाढीले कास्कीमा एउटा झोलुंगे पुल भाँचिएको छ ।
गएराती परेको वर्षाका कारण पोखरा महानगरपालिका-३२ र रुपा गाउँपालिका-५ को बीचमा बग्ने सयला खोलामा बाढी आएको थियो । बाढीका कारण पोखरा महानगरपालिका ३२ को डोरबेशी र रुपा गा.पा. ५ को सयला गाउँ जोड्ने पैदल हिड्ने पुल भाँचिएको हो ।
फलाम र सिमेन्ट बालुवाबाट निर्मित अन्दाजी ३० मिटर लामो र २ फिट चौडा उक्त पुलको बीचको पिलर खोलाले बगाएपछि पुल भाँचिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ ।
प्रहरीका अनुसार आवतजावतका लागि बैकल्पिक बाटोहरु रहेका छन् । यस सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।