काठमाडौँ, २९ भदौ २०८३ ।
मोरङको बेलबारीस्थित समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडको सेवा केन्द्र बन्द भएपछि १६५ जना बचतकर्ताको १ करोड ५७ लाख रुपैयाँभन्दा बढी बचत फिर्ता हुन सकेको छैन। सहकारीले हालसम्म १६२ जना बचतकर्तालाई २० लाख ७४ हजार ३४ रुपैयाँ मात्रै फिर्ता गरेको जनाएको छ। बाँकी १ करोड ३६ लाख २५ हजार ९६६ रुपैयाँ अझै भुक्तानी गर्नुपर्ने देखिएको छ।
काठमाडौंमा मुख्य कार्यालय रहेको भनिएको सहकारीको बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत कार्यालयनजिकको सेवा केन्द्र २०८२ चैत २६ गते पूर्वसूचनाबिना बन्द भएपछि बचतकर्ताहरू समस्यामा परेका हुन्। उक्त सेवा केन्द्र करिब पाँच वर्षदेखि सञ्चालनमा थियो।
बचतकर्तामध्ये बेलबारी–११ लक्ष्मीमार्गका ४५ वर्षीय राजकुमार कार्कीको मात्रै १५ लाख ४९ हजार रुपैयाँभन्दा बढी रकम फसेको छ। त्यस्तै खगेन्द्र कार्कीको २ लाख ३० हजार, लेखनारायण शाहको २ लाख ५ हजार, जानुका कार्कीको ३ लाख ७८ हजार, विकास गिरीको २ लाख १२ हजार, सुस्मिता श्रेष्ठको १ लाख ५४ हजार, प्रकाश भण्डारीको २ लाख ९२ हजार र विजय कुँवरको ७ लाख ५० हजार रुपैयाँभन्दा बढी बचत फिर्ता हुन बाँकी रहेको बचतकर्ताहरूले बताएका छन्।
कार्यालय बन्द भएपछि बचतकर्ताले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी गरेपछि २०८२ चैत २५ गते प्रहरीको रोहबरमा बचतकर्ता, बजार प्रतिनिधि र सहकारीका पदाधिकारीबीच लिखित सहमति भएको थियो। सहमतिमा संस्थाका केन्द्रीय सचिव उषा दाहाल र तत्कालीन कार्यवाहक अध्यक्ष सरस्वती नेपालले हस्ताक्षर गरेका थिए।
सहमतिअनुसार सेवा केन्द्र पुनः सञ्चालन गरी वैशाख १० गतेदेखि बचतकर्ताको रकम क्रमिक रूपमा फिर्ता गर्ने र नियमित कारोबार सुरु गर्ने भनिएको थियो। तर, सहमति कार्यान्वयन नभएपछि बचतकर्ताहरूले पुनः प्रशासन र प्रहरीमा उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले मुख्य व्यवस्थापक युवराज प्रधान, कार्यवाहक अध्यक्ष सरस्वती नेपाल, सचिव उषा दाहाल, उपाध्यक्ष लक्ष्मण पाण्डे, सहसचिव लोकेन्द्र भाट र कार्यकारी प्रमुख टेकबहादुर शाहीलाई छलफलका लागि उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको थियो।
प्रशासनिक दबाबपछि सहकारीले साप्ताहिक प्रगति प्रतिवेदन बुझाउँदै बचत फिर्ताको प्रक्रिया अघि बढेको दाबी गरेको छ। संस्थाका अनुसार असार २९ गते सेवा केन्द्रको साँचो प्राप्त गरी विद्युत् र सिस्टम मर्मत गरिएको तथा अगुवा बचतकर्तासँग छलफल गरिएको थियो।
सहकारीले सार्वजनिक गरेको किस्ताबन्दी तालिकाअनुसार साउन, भदौ र असोजसम्म विभिन्न मितिमा बचतकर्तालाई रकम फिर्ता गर्ने योजना बनाइएको छ। तर, ऋण असुली प्रभावकारी नभएको र साप्ताहिक रूपमा उपलब्ध हुने भनिएको १० लाख रुपैयाँ केन्द्रीय तरलता कोषबाट जुटाउनुपर्ने अवस्था रहेकाले तालिका कार्यान्वयन हुनेमा बचतकर्ताहरू विश्वस्त छैनन्।
बचतकर्ताहरूले सञ्चालकहरूले फोन नउठाउने, सम्पर्कविहीन हुने र रकम फिर्ताका लागि आलटाल गर्ने गरेको गुनासो गरेका छन्।
यता सहकारीकी सचिव उषा दाहालले भने बचतकर्ताको रकम फिर्ता गर्न आफूहरू निरन्तर प्रयासरत रहेको बताएकी छन्। बजारमा प्रवाह भएको कर्जा समयमा असुल हुन नसक्नु, वित्तीय क्षेत्रमा देखिएको मन्दी र चरम तरलता अभावका कारण एकमुष्ट रकम फिर्ता गर्न नसकिएको उनको भनाइ छ। उपलब्ध स्रोत परिचालन गरी किस्ताबन्दीमा भए पनि बचत फिर्ता गर्ने र कसैको निक्षेप नडुब्ने उनको दाबी छ।
डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०६८ चैत ६ गते ३९४७ नम्बरमा दर्ता भएको उक्त संस्थाको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–३५ मा रहेको जनाइएको छ। बेलबारीमा सेवा केन्द्र विस्तार गरेको सहकारीमा पछिल्लो समय तरलता अभाव, कमजोर कर्जा असुली र संस्थागत वित्तीय अनुशासनसम्बन्धी प्रश्न उठेका छन्। बचतकर्ताहरू भने आफूले जम्मा गरेको रकम समयमै फिर्ता पाउनुपर्ने माग गर्दै प्रशासन र प्रहरीको सम्पर्कमा छन्।