इलाम, 28 भदौ २०८३ ।
इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटनापछि भएको आगलागीमा परी आमा–छोरीको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ५ बजे पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा मधेस प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब दुई मिटर तल खसेपछि दुर्घटना भएको थियो। दुर्घटनालगत्तै अटोबाट इन्धन चुहिएपछि आगलागी भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी इलाम नगरपालिका–७ तिल्केनीकी २७ वर्षीया कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी खुसिका श्रेष्ठलाई उपचारका लागि झापास्थित बी एन्ड सी अस्पताल लगिएको थियो। उपचारका क्रममा छोरी खुसिकाको शुक्रबार राति करिब ८ः१५ बजे र आमा कविताको शनिबार बिहान करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिएका छन्।
कविता छोरीसहित फाकफोकथुम–६ हाङ्मासुलीस्थित माइतीतर्फ जाँदै गरेको बताइएको छ। कुशे औँसीका अवसरमा बुवाको मुख हेर्न माइती जाने क्रममा उनीहरू अटोमा सवार रहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनामा अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठ पनि गम्भीर घाइते भएका छन्। आगलागीका कारण उनको शरीरका विभिन्न भाग जलेको र बी एन्ड सी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, फाकफोकथुम–६ की २७ वर्षीया मन्दिरा थापा, देउमाई नगरपालिका–४ की २२ वर्षीया दुर्गादेवी श्रेष्ठ र झापाको कनकाई नगरपालिका–माईधारकी ४० वर्षीया रमाकुमारी श्रेष्ठ पनि घाइते भएका छन्। मन्दिराको अवस्था मध्यम तथा दुर्गादेवी र रमाकुमारीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अटोमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि इन्धन चुहिएर आगलागी भएको प्रारम्भिक विवरण आए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।