कपिलवस्तु, वाणगंगा नगरपालिका–४ स्थित मायादेवी रंगशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिणमा रहेको वाणगंगा नदीमा पौडी खेल्न गएका दुई बालकमध्ये एकजनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक बेपत्ता भएका छन्।
नदीको बहाव बढेपछि नदीको बीचमा रहेको टापुमा पुगेका उनीहरू रुखमा चढेर फसेका थिए। घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट उद्धार सामग्रीसहित प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
उद्धारका क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सुरक्षा बेस पिपराबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले रबर बोटको प्रयोग गरी वाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरेको हो।
सोही स्थानमा रहेका १० वर्षीय बुद्ध लामा भने उद्धार टोलीले फेला पार्न नसकेपछि उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बेपत्ता बालकको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।