पोखरा, ११ साउन २०८३।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाबाट अवैध घरेलु हतियारसहित दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभा मकालु गाउँपालिका–३ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–१ घाचोक बस्ने २२ वर्षीय सुदिप विश्वकर्मा रहेका छन्।
डा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएको शनिबार दिउँसो करिब ४ः३० बजे माछापुच्छ्रे गाउँपालिका–१ टुसेस्थित एक घरबाट अवैध घरेलु हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट पलङको पछाडिपट्टि बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा काठ र फलामबाट बनेका ट्रिगरसहितका दुई वटा घिर्नी तथा तार जडान भएका अवैध घरेलु हतियार बरामद गरिएको प्रहरीको दाबी छ।
पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।