पुषको पहिलो सातादेखि सडक गस्ती गर्ने नेपाली सेनाको तयारी

पुषको पहिलो सातादेखि सडक गस्ती गर्ने नेपाली सेनाको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ मंसिर २०८२
  • 3.9K
    Shares

काठमाडौँ, १६ मङ्सिर २०८२।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै नेपाली सेना परिचालनका लागि राष्ट्रपति कार्यालयबाट स्वीकृति प्रदान गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ११ मा स्वीकृति दिएपछि सेना परिचालनको प्रक्रिया औपचारिक रूपमा खुला भएको हो।
यसअघि निर्वाचन सुरक्षा तयारीलाई तीव्र बनाउन गृह मन्त्रालयले सुरक्षा निकायका प्रतिनिधिहरू समेत समावेश गरी ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२’ तयार पारेको थियो। यो योजनालाई कात्तिक ३० मा केन्द्रीय सुरक्षा समितिले अनुमोदन गरेको थियो।
जेनजी आन्दोलनपछि बढेको अस्थिरता, हतियार–गोलाबारुद हराएका घटना, थुनुवा फरार भएका प्रकरणजस्ता कारणले यसपटक सुरक्षा चुनौती उच्च रहेको निष्कर्ष निकालेका छन्। यही कारण अघिल्ला चुनावभन्दा पहिल्यै सेना परिचालन गर्ने तयारी भएको हो। सेनाले भने अहिलेसम्म परिचालनको मिति टुंगो नलागेको जनाएको छ।
सेनाले चुनावी सुरक्षालाई तीन चरणमा वर्गीकरण गर्दै परिचालन गर्ने तयारी गरेको छ—निर्वाचन पूर्व, मतदान अवधिभर र मतगणनासम्म। पूर्वतयारीका रूपमा संवेदनशील स्थानमा सडक गस्ती र पेट्रोलिङ हुँदै मतदातामा सुरक्षित वातावरण बनाउने लक्ष्य छ।
मतदान अवधिमा सेना बाहिरी घेरामा रहनेछ भने भित्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर तैनाथ हुनेछन्। मतदानपछि मतपेटी संकलन, ढुवानी र मतगणना स्थलको सुरक्षामा पनि सेनाको उपस्थिति रहनेछ।
हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनासहित करिब तीन लाख सुरक्षाकर्मी विभिन्न तहमा चुनाव सुरक्षामा खटिने सम्भावना छ। म्यादी प्रहरीका रूपमा १ लाख ३२ हजारजनासम्म भर्ना गर्ने प्रस्ताव पनि छलफलमै रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार