पोखरा २ कार्तिक २०८२
नवलपरासीको चोरमारामा भारतीय बसले नेपाली मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान र छोरा गम्भीर घाइते भएका छन्।
कावासोतीबाट नवलपरासीतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई आज दिउँसो अन्दाजी १५:२५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउसो ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो भने दुईजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा सर्लाही, लालबन्दी नगरपालिका–४ कि ३० वर्षीया अनिता चौधरीकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा ३४ वर्षीय मोटरसाइकल चालक नरेश चौधरी, उनकी श्रीमती ३० वर्षीया अनिता चौधरी र १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएकोमा उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा अनिता चौधरीलाई चिकित्सकले साँझ १६:५ बजे मृत घोषणा गरेका बताइएको छ।
मृतक अनिताका श्रीमान नरेश चौधरी र छोरा अनुजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस र बस चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिए।