जेन जी आन्दोलनका क्रममा हतियारसहित प्रदर्शनमा उत्रिएका तीन जना टीओबी समूहका कार्यकर्ता पक्राउ
पोखरा, २७ असोज २०८२।
जेनजी आन्दोलनमा हतियारसहित सामेल भएको आरोप लागेका टीओबी (तिब्बतीयन आरिजिनल ब्लड) समूहका तीन जना युवा काठमाण्डौमा पक्राउ परेका छन्।
जेन जी आन्दोलनमा पेस्तोलसहित देखिएको भनिएका ती तीन जना युवा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका बेला प्रहरीले पक्राउ गरेको हो।
जेन जी आन्दोलनमा नेपालको एक चीन नीति विपरीत फ्री तिब्बतको पक्षमा हतियारसहित प्रदर्शन गरिएको भन्दै सामाजिक संजालमा ब्यापक बिरोध भैरहेको छ।
सामाजिक संजालमा ब्यापक बिरोध भए पछि पक्राउ परेका टीओबी (तिब्बतीयन आरिजिनल ब्लड) समूहका तीन जना युवाबिरुद्ध कानुनी कारबाही चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको एसएसपी रमेश बस्नेतले जानकारी दिए।
प्रहरी कार्यालय पुगेका तेन्जेन दावाले आफू टीओबीको सदस्य भएको समेत स्वीकार गरेका छन्। तर उनले उक्त पेस्तोलसहित देखिएको फोटो भने पुरानो भएको दाबी गरेका छन्।
भदौ २३ र २४ गतेको आन्दोलन भड्काउन टीओबी लेखेको टिसर्ट लगाउने समूहको भूमिका रहेको भन्दै तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्। उक्त समूहमाथि प्रहरीले निगरानी बढाएको छ।
