पोखरा, २५ असोज २०८२।
डोटीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना बालबालिकासहित २१ जना घाइते भएका छन् ।
अछामबाट धनगढी आइरहेको सुपप्र ०१-००१ ख ३९५६ नम्बरको गाडी जोरायल गाउँपालिका–२ स्थित भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने छ जना बालबालिकासहित २१ जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीया हरिया परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गाडी चालक कैलाली, धनगढी उपमहानगरपालिका–१२ बी गाउँका ३८ वर्षीय देबबहादुर थापा पनि घाइते भएका छन्। डोटी प्रहरीका अनुसार गाडीमा यात्रारत अधिकांश यात्रु अछाम र कैलाली जिल्लाका रहेका छन्।
प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १४ जना प्रहरी टोलीले उद्दार गरी घाइतेलाई तत्काल पद्मा अस्पताल, अत्तरियातर्फ पठाइएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूमा लोकेन्द्र रावल (१८), एकेन्द्र बिक (१६), मोतिकला परियार (३५), बिराज परियार (११), भिम बहादुर ढोली (५३), श्रृस्टि परियार (११), बिनोद परियार (१९), मनसरी परियार (३०) लगायत छन्।
साथै, ५ वर्षीय दुई बालिका आहाना परियार र एलिसा परियारसहित सुप्रिया परियार (४), गौरी परियार (२१), र चक्र परियार (४३) सामान्य घाइते भएका छन्।
सोही दुर्घटनामा घाइते भएका ६ बालबालिकासहित २१ जना यात्री मध्ये एक जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ ।