पोखरा, २४ असोज २०८२।
हुम्लामा आज भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै निधन भएको छ।
चङ्खेली गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१च १०९१ नम्बर बोलेरो जीप चङ्खेली ४ देसीखोलामा आज बिहान ११ः०० बजे दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै निधन भएको हो। उक्त जिप ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा परेर चङ्खेली गाउँपालिका–६ का मनवीर बुढा, उनाकै छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।
सोहि दुर्घटनामा परेर घाइते भएकाहरूको थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ। घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए।