आश तमु पोखरा, २७ वैशाख / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेदवारको गाडी अज्ञात समुहले मध्ये रातमा जलाएका छन् । गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ग१ज ५१४८ नम्बरको जिपमा गएराती घाचोकको टुसे भन्ने स्थानमा पार्किङ् गरेकै स्थानमा आगजनी भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार रातको १२ः३० मा गाडी आगो लगाएर जलाइएको जानकारी दिएको छ ।आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको छ । उक्त गाडी गाउँपालिकाकै उपप्रमुख उम्मेदवार टेकन शोभा गुरुङको भएको बताइएको छ ।
केही दिन अघि मात्रै सार्दिखोलामा काँग्रेसका माछापुच्छ्रे गाउँपालिका उम्मेदवारको गाडीमा आगजनी गरेको थियो ।