वीरगञ्जमा ‘ग्याङ्स्टर’को रूपमा स्थापित हुन गोल्डेनको हत्या : पांच जना समातिए

वीरगञ्जमा ‘ग्याङ्स्टर’को रूपमा स्थापित हुन गोल्डेनको हत्या : पांच जना समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ असोज २०८२
  • 6.7K
    Shares

बीरगंजमा हत्या गरिएका गोल्डन भन्ने शिवम साह कानु

पोखरा , १६ असोज २०८२।
वीरगञ्जमा ‘ग्याङ्स्टर’को रूपमा स्थापित हुन अर्को समुहका एक युवाको हत्या गरेको रहस्य खुलेको छ।

वीरगञ्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिकै मङ्गलवार राति भएको ग्याङफाइटको अनुसन्धान गर्ने क्रममा प्रहरीले त्यस्तो रहस्य पता लगाएको हो।

प्रहरीका अनुसार , उक्त ग्याङफाइटमा त्यस रात बारा जिल्लाको परवानीपुर गाउँपालिका–९ घर भई वीरगञ्ज–१० मा बस्दै आएका २० वर्षीय शिवम साह कानु उर्फ गोल्डेन) को हातमुक्का र बाँसको भाटाले पहानेर हत्या गरिएको थियो। उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले जानकारी दिए।

एसपी पाठकका अनुसार, मङ्गलवार राति करिब ११:३० बजे गीता मन्दिर रोडमा दशैं मेला घुम्न गएका गोल्डेन र विपक्षी समूहबिच वादविवाद र हातपात भएको थियो । त्यस बिबादपछि गोल्डेनलाई ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुप बनाएका युवाहरूले हातमुक्का र बाँसको भाटाले हानेर गम्भीर घाइते बनाएकोमा तत्काल उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा पुरानो रिसीइवी, प्रतिशोध र आफूलाई ‘ग्याङ्स्टर’को रूपमा प्रस्तुत गर्ने उद्देश्यले गोल्डेनको हत्या भएको प्रारम्भिक निष्कर्ष निस्किएको एसपी पाठकले बताए। मृतक गोल्डेन र विपक्षी समूहबिच विगतमा पनि झैझगडा भएको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घटनास्थलमा पुगी लाशजाँच मुचुल्का र प्रमाण सङ्कलन गरेको थियो । प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोलीले सिसिटिभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषणको आधारमा पाँच जनालाई पक्राउ गरेको हो । तीमध्ये तीन जनालाई घटना भएको राति नै पक्राउ गरिएको थियो भने बाँकी दुई जनालाई भारतको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेको अवस्थामा बुधवार पक्राउ गरिएको एसपी पाठकले बताए ।

एसपी पाठकले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजतलास जारी रहेको बताए । उनले वैज्ञानिक विधि र प्रविधिको प्रयोग गरी अनुसन्धानलाई तीव्र बनाइएको र दोषीहरूलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरीका अनुसार ‘खुनी दरिन्दे समूह’ नामको ह्वाट्सएप ग्रुप बनाएर आपराधिक गतिविधिमा संलग्न युवाहरूले मेलामा भएको सानो विवादलाई लिएर गोल्डेनमाथि आक्रमण गरेका थिए । घटनाले वीरगञ्जमा ग्याङ संस्कृतिको बढ्दो प्रभाव र युवाहरूमाझ हिंसात्मक गतिविधिको जोखिमलाई उजागर गरेको छ ।

हत्याकाण्डले स्थानीय समुदायमा त्रास फैलिएको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीमार्फत यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार