संघीय गठबन्धन र सत्ता गठबन्धनको बैठक निष्कर्षहीन

संघीय गठबन्धन र सत्ता गठबन्धनको बैठक निष्कर्षहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ बैशाख २०७४
  • 9.1K
    Shares

वैशाख २६ काठमाडौं : सत्ता गठबन्धन र संघीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । संविधान संशोधन नगरी पहिलो चरणको निर्वाचन गर्न लागिएको प्रति असन्तुष्ट संघीय गठबन्धनका नेताहरुले संविधान संशोधन नभईकन निर्वाचनमा सहभागी नहुने अडान राखेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

प्रमूख राजनीतिक दलहरु नेपाली कांग्रेस,नेकपा (एमाले),माओवादी केन्द्र र राजपाका नेताहरुको बीचको बैठक मंगलबार बालुवाटारमा बसेको थियो । बैठकमा सरकारद्धारा संसदमा दर्ता गरेको संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरु थप एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राजपाका नेताहरुले संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गर्नुभएको थियो भने प्रमुख तीन राजनीतिक दलका नेताहरुले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर संघीय गठबन्धनमा आवद्ध दलहरुलाई पनि निर्वाचनमा ल्याउन आफूहरुले थप छलफल गर्ने बताउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते सविधान संशोधन विधेयक पारित गर्न प्रयास गर्ने आश्वासन दिए पनि प्रधानमन्त्रीको प्रतिवद्धताप्रति विश्वास नलागेर आजै गठबन्धनको बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गर्न लागिएको एक नेताले बताए ।

राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज ३ बजे गठबन्धनको बैठक बस्न लागेको छ ।
बैठकले दवाव मुलक कार्यक्रमको घोषणा गर्ने राजपा नेपालका ति नेताले जानकारी गराए ।

प्रतिक्रिया