खोटाङकी रेस्मिका परियारको सामूहिक वलात्कारपछि हत्या : छिमेकी पक्राउ

खोटाङकी रेस्मिका परियारको सामूहिक वलात्कारपछि हत्या : छिमेकी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ असोज २०८२
  • 11.2K
    Shares

पोखरा, २ असोज २०८२।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका परियारको सोमबार सामूहिक बलात्कारपछि हत्या भएको खुलासा भएको छ।

छिमेकी दिपक सार्की रेस्मिका परियारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेपछि उनको सामूहिक बलात्कारपछि हत्या भएको खुलासा भएको हो ।

पक्राउ परेका दिपक सार्कीले आफुसमेत ५-६ जना मिलेर सहकारीमा काम सकेर घर फर्किंदै गरेकी परियारलाई सोमबार साँझ बाटोमै नियन्त्रणमा लिएर स्थानीय मार्से जंगलमा पुर्याई सामूहिक बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। अभियुक्त सार्कीले घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ।

खोटाङको पन्चमीबजारमा रहेको अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत २६ वर्षीया रेस्मिका परियारको गएको भदौ ३० गते राति स्थानीय मार्से जंगलमा सामूहिक वलात्कारपछि हत्या भएको थियो।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष सुवास प्रधानका अनुसार, बेलुकी अबेरसम्म घर नफर्किएपछि खोज्ने क्रममा बाटोनेर चप्पल फेला परेको, त्यसपछि खोज्दै जाँदा केही तल मडारिएको ठाउँ फेला परेको र करिब एक सय मिटर तल घोप्टो परेको अवस्थामा राति ८ बजेतिर फेला परेकी हुन् ।

परियारको भित्री कपडा मडारिएको ठाउँनेर फेला परेको र बाहिरी कपडा भने लगाइएको अवस्थामा फेला परेको प्रधानको भनाइ छ । रातिदेखि नै घटनास्थलमा प्रहरी पुगे पनि माइतीपक्षको पर्खाइमा घटनास्थलबाट शव उठाउन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।

‘घटनास्थलमा राति नै प्रहरी पुगेको छ, म पनि जाँदै छु’, डीएसपी बुढाथोकीले भने, ‘आफन्तको पर्खाइमा शव उठाउन सकिएको छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार