सय रुपैयाँ विवादमा कामदारको हत्या गर्ने ठेकेदार र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नुवाकोटका विषमान भन्ने सेतेराङ तामाङ र पछुवा भन्ने मनोज तामाङलाई पक्राउ गरेको हो । उनीहरूले गत वर्ष ९ वैशाखमा तारकेश्वरको कमेरे खोलामा गोरखाका करिब ५० वर्षीय श्यामबहादुर मगरको हत्या गरेका थिए ।
कबोल गरेभन्दा सय रुपैयाँ कम ज्याला दिएको विषयमा विवाद हुँदा तीनजना मिलेर मगरको हत्या गरेका थिए । रसुवाका कृष्णबहादुर विकलाई महानगरीय अपराध महाशाखाले गत वर्ष नै पक्राउ गरे पनि फरार रहेका सेतेराङ र मनोजलाई सिआइबीले ११ महिनापछि बुधबार माछापोखरीबाट पक्राउ गरेको हो ।
यसरी भएको थियो भेट
गोरखाको छेपेटार घर भएका श्यामबहादुर मगर काम खोज्दै काठमाडौं आएका थिए । गत वर्ष २ वैशाखमा कृष्णबहादुर विकसँग उनको तारकेश्वरमा भेट भयो । विकको चप्पलमा सिमेन्ट लागेको देखेपछि उनी निर्माणसम्बन्धी काममा आबद्ध रहेको ठानेर उनले आफूलाई पनि ज्यामी काम लगाइदिन आग्रह गरेका थिए । विकले भोलिपल्टैदेखि ठेकेदारसँग कुरा गरेर मगरलाई कमेरे खोलामा पर्खाल लगाउने काममा लगाए । ठेकेदार बाहिर भएकाले दैनिक एक हजार दुई सय रुपैयाँ दिने सर्तमा उनलाई काममा लगाइएको थियो ।
आफन्त कोही नभएकाले मगर विककै डेरामा बस्न थाले । पछि सेतेराङ ठेकेदार आए । ठेकेदारले उनलाई मासिक एक हजार एक सय रुपैयाँ मात्र दिने कुरा गरे । तर, पूर्वसर्तअनुसार ज्याला नदिने बताएपछि मगर रिसाए । ६ दिन काम गरेपछि ९ वैशाखमा ठेकेदारले ११ सयका दरले ज्याला दिए । सोहीअनुसार ९ गते ठेकेदार, विक र मगर मिलेर डेरामा मदिरा र मासु खाएका थिए । सोही क्रममा विकको डेरामा खाना खाएबापत उनले २५ सय रुपैयाँ दिएका थिए ।
मदिरा पिएपछि आफूलाई भनेअनुसार तलब नदिएको भन्दै मगर ठेकेदार र विकसँग रिसाएका थिए । अबदेखि आफूले काम नगर्ने भन्दै उनी विकको डेराबाट निस्किए । सोही क्रममा विक, ठेकेदार र विकका भान्जा पनि डेराबाट निस्किए । उनीहरूबीच झगडा भयो । पैँयुटारस्थित कमेरे खोलामा पुगेपछि मगरलाई लडाए । त्यसपछि ढुंगा र घरेलु हतियारले हानेर उनलाई हत्या गरी डेरामा फर्किए । भोलिपल्ट स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले मुचुल्का उठाएर अनुसन्धान अघि बढायो । तर, प्रहरीले मृतकको नाम नै पत्ता लगाउन सकेन । स्थानीय कसैले पनि उनलाई चिनेको बताएनन् ।
स्थानीय एक व्यक्तिले मगरले कमेरे खोलामा पर्खाल लगाउने काम गरेको बताएपछि प्रहरीले अनुसन्धानको बाटो पहिल्यायो र तत्कालै ठेकेदार खोज्यो । मगरको हत्यापछि ठेकेदार बेपत्ता थिए । त्यहाँ काम गर्ने विकबारे प्रहरीले सूचना लियो । उनलाई पक्राउ ग¥यो । विकलाई पक्राउ गर्दा उनले सुरुमा आफूलाई थाहा नभएको बताएका थिए भने पछि मात्र उनले घटनाको वास्तविकता बताए । अरू दुईजना भने फरार नै थिए । हत्याको मुख्य कारण ज्याला भए पनि अर्काे कारण मदिरा भएको प्रहरी अधिकारीहरू बताउँछन् । पक्राउ परेका थप दुईजनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।
सहकारी ठग्ने आठ वर्षपछि पक्राउ
काठमाडौं/सहकारीको पैसा हिनामिना गरी फरार भएका व्यक्ति आठ वर्षपछि पक्राउ परेका छन् । ठगी मुद्दामा काठमाडौैं जिल्ला अदालतको २५ जेठ ०६७ को फैसलाले एक वर्ष कैद र दुई लाख ५५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका नुवाकोट थप्रेक–९ घर ३४ वर्षीय रामचन्द्र पण्डितलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पण्डितलाई बुधबार ताहचलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ । काठमाडौं–३४ स्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहाकरी संस्थाका बजार प्रतिनिधि रहेका पण्डितले ०६५ वैशाखदेखि असोजसम्ममा संस्थाका बचतकर्ताबाट संकलन गरेको दुई लाख ५५ हजार रुपैयाँ संस्थामा जम्मा नगरी ठगी गरेका थिए ।