नेपाली राजनीतिका गुरु एबम शिर्षस्थ नेता मोहन बिक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । बुटवलमा आयोजित एक पत्रकार सम्मेलनमा पूर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी मसाल विभाजित भएको घोषणा गरिएको छ। साथै विभाजित रास्ट्रिय भेला गरेर ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको पनि जानकारी दिएको छ। नयाँ बनेको समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् ।
पार्टीमा फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र पार्टीभित्र रहेका असन्तुष्ट ३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। समन्वय समितिमा पार्टी नेताहरू विमल शर्मा,गोविन्द सिंह थापा,जनगायक जीवन शर्मा,रामबहादुर बुढा,नारायण योगी, पत्रकार शशिधर भण्डारी, गंगाधर शर्मा,दीपक पौडेल लगायतका नेताहरू रहेको जनाएको छ । अन्य नेताहरूको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ ।
सो अवसरमा पार्टीका संयोजक सन्त बहादुर नेपालीले नेतृत्वले सातौँ महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारबाही गर्दै पार्टीबाट पाखा लगाउन खोजेको गुनासो गरे । उनले आफूहरुले समितिले संघीय व्यवस्था खारेज गर्न, एमसीसी सम्झौता खारेज गर्न, भारतद्वारा अतिक्रमित भूभागका सन्दर्भमा उच्चस्तरीय राजनीतिक तहबाट वार्ता गरी सीमा विवाद अन्त्य गर्न, १९५० लगायतका असमान सन्धी खारेज गर्न, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने लगायतका माग सरकारसँग रहेको बताए ।